पहिलो एक करोड बिजेता बने अमिर
बलिउडमा ‘पर्फेक्सनिस्ट’ उपनाम पाएका अमिर खानलाई कुशल अभिनेताको रुपमा धेरैले चिनेका छन् । संख्यात्मकरुपमा थोरै फिल्म खेल्ने अमिरका अधिकांश फिल्म ब्लकबस्टर छन् । उनको अभिनय शैलीमा त कुनै प्रश्न उठाउने ठाउँ नै छैन । अमिरले आफूलाई एक कुशल कलाकार मात्र नभएर बौद्विक ब्यक्तिको रुपमा समेत दर्शकहरुमाझ चिनाउन सफल भएका छन् । बहुचर्चित कार्यक्रम ‘कन बनेगा करोडपति’ मा सबै प्रश्नहरुको सहि जवाफ दिई पहिलो पटक एक करोड जितेर अमिरले आफ्नो बौद्विकता प्रर्दशन गरेका छन् ।
सौरभ गांगुली होस्ट रहेको उक्त क्विज कार्यक्रममा अमिर आफ्नी श्रीमती किरण रावको साथमा उपस्थित थिए । उपलब्ध सबै लाइभ लाइन र श्रीमतीको सहयोग लिई अमिरले भारु एक करोड जित्न सफल भएका थिए । केबीसी बंगाली भर्सनको यस शोमा यसअघि प्रतियोगीले सबैभन्दा बढी २५ लाखभन्दा बढी जितेका थिएनन् । पुरै रकम जित्ने पहिलो भएकोमा अमिर र किरण दुबैले आश्चर्य प्रकट गरे ।
‘उहाँ सधै यस्तै हुनुहुन्थ्यो । आफ्नो बिचारमा स्पष्ट हुनुुहुन्छ,’ एक करोड जितेपछि अमिरबारे प्रतिक्रिया दिदैं किरणले भनिन्, ‘उहाँको इतिहास र भूगोलमा विशेष रुची छ ।’ अमिरले उक्त रकम बालबालिकाहरुको कल्याण र हितका लागि च्यारिटीमा सरस्वती मन्दिर ट्रस्टलाई प्रदान गरेका छन् ।
Source:onlinekhabar