|

डेल्ली बेली फुकुवा

काठमाडौं , अषाढ २२ - सेन्सर बोर्डले प्रदर्शन अयोग्य ठहर्‍याएका केही संवादलाई अवज्ञा गर्दै चलाएको आरोपमा आइतबार रात्रि सोदेखि प्रतिबन्धमा परेको फिल्म 'डेल्ली बेली' को कारबाही फुकुवा भएको छ । 'आइन्दा गल्ती नगर्ने' सर्तमा वितरकले सम्पादित फिल्म देखाउन राजी भएपछि 'पहिलोपटक' का लागि माफी दिँदै बुधबारदेखि विधिवत् चल्न दिइने भएको छ ।
'आइन्दा सम्पादित फिल्मलाई नै चलाउने वितरकको प्रतिबद्धतापछि प्रतिबन्ध फुकुवा गरिएको हो,' सेन्सर बोर्ड सदस्य चेतन सापकोटाले भने, 'मोटो रकम लगानी परेकाले पनि मर्कामा नपार्न चाहेका हौं ।' सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई 'डेल्ली बेली' लाई सार्वजनिक प्रदर्शनीको अनुमति दिएको जानकारीसहितको पत्र मंगलबार पठाएको छ ।
शाखा अधिकृत गोकुल खड्काद्वारा हस्ताक्षरित पत्रमा फिल्म वितरक टि्रपल एन मुभिज एन्ड सप्लायर्स सेन्सर बोर्डले हटाउन भनेका शब्द हटाई चलाउन प्रतिबद्ध भएकाले प्रदर्शन अनुमति दिइएको उल्लेख छ । 'पुनः गल्ती गरेको पाइएमा कानुन बमोजिमको सजाय भोग्न वितरक तयार भएकोले अहिले पाँच हजार रुपैयाँ जरिवानासहित फिल्म चल्न दिने भएका हौं,' चेतनले भने ।
यसअघि सूचना तथा सञ्चारकै सिफारिसमा काठमाडौं जिल्ला प्रशासनले फिल्मको सार्वजनिक प्रदर्शनमा प्रतिबन्ध लगाइदिएको थियो । गत शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आएको उक्त फिल्म अश्लीलताकै कारण छिमेकी मुस्लिम देशसहित २२ मुलुकमा प्रतिबन्धित छ । यो होम प्रोडक्सनको रिलिज अगावै आमिर खानले आफ्नो गुडविललाई 'डेल्ली बेली' ले क्षणभरमै खत्तम पारिदिने टिप्पणी सहितको विज्ञापन बजाएका थिए ।
भारतीय सेन्सर बोर्डलाई 'एडल्ट' सर्टिफिकेट दिलाउन आग्रह गरेका आमिरले नेपालमा गरिएको प्रतिबन्धलाई सम्बन्धित देशको सेन्सर बोर्डको अधिकार भएको टिप्पणी गरेका थिए । उनले छिट्टै नेपाली वयस्क दर्शकलाई सेन्सर बोर्डले फिल्म हेर्न दिने आशा व्यक्त गरेका थिए । त्यसको एक दिनपछि नै नेपालको बोर्डले पनि वयस्कका लागि भनेर व्यक्तिगत बोलीचालीमा बढी प्रयोग गरिने तर अश्लील शब्द 'डिप' गरी चलाउन अनुमति दिएको हो । अब १६ वर्षमुनिका दर्शकले भने 'डेल्ली बेली' हेर्न पाउने छैनन् ।

Source:kantipurnews

Posted by Butwalonline on 7:44 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "डेल्ली बेली फुकुवा"

Leave a reply