|

ठाउँ ठाउँमा पहिरो गएपछि १ हप्तादेखि पूर्वी रुकुमको यातायात अवरोध

कमल थापा, रुकुम, साउन ३- ठाउँ ठाउँमा पहिरो गएपछि १ हप्तादेखि पूर्वी रुकुमको यातायात अवरोध हुँदै आएको छ। सदरमुकाम मुसीकोट खलंगादेखि पूर्वी रुकुमको रुकुमकोट, काक्री, महत, स्यालापाखा र पश्चिम रुकुमको वाँफीकोट, मग्मा र आठवीसकोटमा सञ्चालन हुने यातायात बन्द छन्।
खलंगा-काक्री खण्ड अन्तरगत पर्ने स्यालापाखा, रुकुमकोट र मोरावाङ्गको दर्जनौं ठाँउहरुमा पहिरो गएपछि सवारी साधनहरु बन्द हुन पुगेका हुन। पहिरोले त्यस क्षेत्रमा चल्ने साना गाडीहरु समेत बीचबीचमा रोकिएका रुकुम जीप ब्यवसायी समितिका अध्यक्ष टोपवहादुर ओलीले बताए।
‘पहिरोले गाडीसमेत बीचबीचमा अलपत्र परेका छन।' अध्यक्ष ओलीले भने, ‘पहिरो हटाउनको जिविसमा माग गरिए पनि पहल हुन सकिरहेको छैन।' पहिरोले गाडी अवरुद्ध भएपछि त्यस क्षेत्रमा चल्ने डेढ दर्जन साना गाडीहरु सदरमुकाममै थन्किएका छन्।
गाडीहरु सञ्चालन नहुँदा ब्यवसायीहरुले गाडी कम्पनीलाई किस्ता तिर्न समेत नसक्ने अवस्थामा पुगेको अध्यक्ष ओलीको भनाई छ। गाडी नखुलेपछि यात्रुहरु २ दिन लगाएर हिडेरै सदरमुकाम खलंगा आउँने गरेका छन्। पहिरोले वाटो भत्काएपछि माल समान ढुवानीमा समस्या हुँदै आएको छ। समान ढुवानी गर्ने ट्याक्टर समेत नचल्दा पूर्वी रुकुममा माल समानको अभाव हुन थालेको छ। सडक बन्द भएपछि सरकारले दिएको अनुदान चामल ढुवानीमा समेत समस्या हुँदै आएको छ।
त्यस्तै पश्चिम रुकुमको आठवीसकोट, मग्मा र वाँफीकोटमा चल्ने गाडीहरु पनि पहिरोका कारण बन्द भएका छन्। वर्षासँगै सानीभेरी नदी बढेको र मग्मा र आठवीसकोटमा आएको पहिरोले बाटो बन्द भएको हो। दुवै ठाउँमा आएको पहिरो हटाउन नसक्दा यात्रु र ब्यवसायी दुवै मर्कामा परेका छन्। त्यहाँ मोटरसाइकल समेत चल्न सकिरहेका छैनन्।
Source:nagariknews

Posted by Butwalonline on 7:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ठाउँ ठाउँमा पहिरो गएपछि १ हप्तादेखि पूर्वी रुकुमको यातायात अवरोध"

Leave a reply