तारा ग्यासलाई कालोबजारी गरेको ठहर
काठमाडौं, असार २४ - तारा ग्यासले अर्काको सिलिन्डर जम्मा पारेर बजार अभाव गराएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले कालोबजारी ऐन अनुसार कारवाही गरेको छ। कालोबजारी ऐन अनुसार उसलाई पाँच लाख धरौटी मागेको कार्यालयले जनाएको छ। 'उसले अर्काको सिलिन्डर जम्मा पारेर बजार अभाव गराएको देखिएको छ,' कार्यालयका उपसचिव विण्णु पौडेलले बिहीबार नागरिकसँग भने, 'त्यही अनुसार कारवाही गरिएको हो।'
ललितपुर जिल्ला प्रशासनले गठन गरेको छानविन समितिले तयार पारेको प्रतिवेदनमा कारोबार गर्ने अनुमति नलिई धेरै सिलिन्डर जम्मा पारेको भन्दै कालोबजारी ऐन अनुसार कारवाही गर्न सुझाव दिएको थियो। मोनिका सप्लार्यसको नाममा दर्ता भएको कम्पनीले तीनवटा कम्पनीको मात्र ग्यास बिक्री गर्ने अनुमति लिएपनि डिपोमा २५ थरी कम्पनीका सिलिन्डर भेटिएको थियो। 'तीनवटा कम्पनीको मात्र कारोबार गर्न अनुमति लिएर २६ थरी सिलिन्डर भेटिनुले अनियमित कारोबार गरेको स्पस्ट भएको देखियो,' पौडेलले भने।
ताराको ललितपुरको सानागाउँस्थित डिपोमा २६ कम्पनीका २०६७ थान सिलिन्डर भेटिएको थियो। सत्यनारायण ग्यास इन्डस्ट्रिजको नाममा वैशाख २ देखि तारा ब्रान्डको सिलिन्डर बजारमा आउन थालेको हो। धादिङको बेनिघाट,धुसामा बोटलिङ प्लान्ट रहेको कम्पनीका प्रबन्ध सञ्चालक लक्ष्मीप्रसाद महर्जन हुन्। उनकै श्रीमतीको नाममा मोनिका सप्लार्यस दर्ता भएको छ।
डिपोमा उपत्यकामा बिक्री नहुने ग्यासका सिलिन्डरसमेत भेटिएको थियो। उपत्यकामा बिक्री नै नहुने मेची, शक्ति, मनकामना र भेरी ग्यासका सिलिन्डर भेटिएको थियो।
source:nagariknews