|

सुन्दरीहरू चर्को घाममा,सडकमा आए


धरान, अषाढ ३० - सुन्दरीहरूले चर्को घाम, सवारी साधनको घाइँघुइँ र धूलोधूवाँ बुधबार मजाले झेले । तर उनीहरू भानुचोकमा तीन घन्टा त्यसै रल्लिएका थिएनन् । उनीहरू ट्राफिक प्रहरीको आंशिक भूमिकामा थिए । उनीहरूले कैफियत देखिएका मोटरसाइकल सवारहरूलाई रोकेर कसैलाई हेलमेटको फित्ता खुला नछाड्न अनुरोध गरे । कसैलाई के सिकाए, कसैलाई के ।
अरू दिन ट्राफिक प्रहरीहरूले यस्तै आग्रह गर्दा झ्वाँकिनमा गर्व गर्नेहरू सुन्दरीहरूले पसिना पुछ्दै 'प्लिज, आफ्नो सुरक्षाका लागि हेलमेट लगाउनुस्' भन्दा चुपचाप टोलाइरहेका थिए । उनीहरू आज्ञाकारी बालक बनिरहेको दृश्य कम्ती रमाइलो थिएन ।
हेलमेट मोटरसाइकलको पछाडि झुन्डयाउने, त्यो दुईपांग्रेमा तीन जनाभन्दा बढी चढ्ने, जेब्राक्रसलाई नदेखेजस्तो गर्दै अन्तैबाट बाटो काट्ने, गाडी जताततै पार्क गर्नेहरूलाई ट्राफिक नियम पालना गराउन मिस पूर्वाञ्चलका प्रतियोगीहरूलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमा उतारेको हो । सडक जिम्मा दिनुअघि उनीहरूलाई  ट्राफिकका निरीक्षक रोशन आचार्यले आवश्यक काइदाहरू सिकाएका थिए ।
'ट्राफिक नियम पालना गरे दुर्घटना कम हुन्छ भनेर सर्वसाधारण र चालकहरूलाई सम्झाउन चर्को घाम नभनी सडकमा आएका हौं,' एउटी प्रतिस्पर्धी लक्ष्मी सुब्बाले भनिन् । उक्त प्रतियोगिताको दोस्रो संस्करणमा भिड्दै गरेका सुन्दरीहरू यसअघि ट्यालेन्ट शोमा उत्रिएका थिए । उनीहरूले आँखा दान र रक्तदानसमेत गरेका
थिए ।
मिस पूर्वाञ्चलको फाइनल असार ३२ गते हुँदै छ । विजेताले १ लाख ६५ हजार रुपैयाँको स्कुटी पनि प्रदान गरिने आयोजक बूढा सुब्बा ट्रेनिङ सेन्टरका अध्यक्ष वीरेन्द्र लिम्बूले बताए । सुन्दरीहरूले यसबाहेक अन्य १३ विधाका टाइटल समेत पाउनेछन् ।
 Source:kantipurnews

Posted by Butwalonline on 7:22 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुन्दरीहरू चर्को घाममा,सडकमा आए"

Leave a reply