|

सभासदले कुटीकुटी २ प्रधानाध्यापक हटाए

डडेलधुरा, अषाढ ९ - 'राजीनामा गर्छस् कि अरू कुटूँ ?' यसो भन्दै माओवादी सभासद हरिलाल थापाले स्यालचौडी माविका हेडसर महादेव भट्टमाथि विद्यालय बैठकमा अभिभावककै सामु कुटपिट गरे । हेडसरले पिटाइ थेग्न सकेनन्, भने, 'म राजीनामा गर्छु ।' त्यसपछि सभासद थापाले उनलाई तुरुन्तै राजीनामा लेख्न लगाए ।
सदरमुकामदेखि ७० किलोमिटर टाढा आलिताल गाविसको उक्त विद्यालयमा हेडसरलाई सभासदले पिटिरहँदा बैठकमा एक जनाले मात्रै प्रतिरोध गरे, अरू बोल्न सकेनन् । 'कार्यक्रममा सबै थिए,' स्थानीय समाजसेवी रामबहादुर कुँवरले कान्तिपुरसँग टेलिफोनमा भने, 'प्रतिरोध गर्ने म एक्लो भएँ, कसैले बोल्न सकेनन् ।' राजीनामा नगरे हत्या गर्ने धम्की दिएपछि प्रधानाध्यापक महादेव भट्टले राजीनामा दिएको उनले बताए ।
हेडसर भट्टले आत्मसम्मानमा चोट पुगेकाले आफूले राजीनामा दिएको जनाए । 'प्राथमिक स्कुललाई निमावि र मावि बनाएँ, १५ वर्ष प्रधानाध्यापक हुँदा मेरो कार्यशैलीमा कसैले प्रश्न उठाएन,' उनले दुखेसो पोखे, 'सभासदले अयोग्य व्यक्तिलाई शिक्षक बनाउन दबाब दिँदा मान्न नसकेका कारण यसरी अपमानित हुनुपर्‍यो ।' उनै सभासद थापाले दुर्गा उच्च माविका हेडसर प्रताप धामीलाई पनि आम भेलामै राजीनामा नदिए जिउँदै जलाउने धम्की दिएर राजीनामा दिन बाध्य गराएका छन् ।
'आम भेला चलिरहेका बेला सभासद थापा प्राचार्य धामीलाई कुट्न समेत गए,' स्थानीय शिक्षक धनबहादुर देउवाले कान्तिपुरसँग भने, 'व्यवस्थापन समितिका चार जनाको उपस्थितिले प्रधानाध्यापक परिवर्तन गर्ने कुरामा असहमत हुँदा सबैलाई धम्की दिन थालिएको छ ।'
सभासद थापाले भट्टमाथि आफूले कुटपिट गरेको स्विकारेका छन् । 'भट्टका भतिजाले आफूलाई ज्यान मार्ने सार्वजनिक धम्की दिएका कारण एक-दुई झापड हानेको हुँ,' उनले भने । 'यो कुरा सबैलाई जानकारी छ,' उनले टेलिफोनमा भने, 'दुर्गा उच्च माविका प्रधानाध्यापक धामी र स्यालचौडीका प्रधानाध्यापक भट्टले गर्न नहुने धेरै काम गरेकाले सुधार्न मात्र खोजिएको हो ।' आफ्नो निर्देशनविपरीत स्रोतव्यक्ति भर्नालगायत 'विद्यालय क्षेत्रमा भन्नै नसकिने काम गर्दै आएकाले' विरोध गरेको दाबी सभासद थापाले गरे । दुवै विद्यालय सभासद थापाका आफ्नै गाविसमा पर्छन् । थापाले आफ्नै भाइलाई शिक्षक भर्ना गर्ने प्रसंगमा प्रधानाध्यापकहरू कुटेको स्थानीय बासिन्दाले बताएका छन् ।
जिल्ला शिक्षा कार्यालयले भने यसबारे जानकारी नभएको जनाएको छ । 'हामीलाई औपचारिक रूपमा जानकारी छैन,' विद्यालय निरीक्षक लक्ष्मण गिरीले भने, 'घटना भएको स्थानीय शिक्षकहरूबाट सुन्नमा आएको हो ।'



Source:KantipurNews

Posted by Butwalonline on 7:35 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सभासदले कुटीकुटी २ प्रधानाध्यापक हटाए"

Leave a reply