माओवादी अध्यक्ष प्रचण्ड चितवनमा
२४ वैशाख, नारायणगढ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन र नवलपरासीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार राति चितवन आइपुग्नु भएको छ ।
पत्नी सिता, छोरा प्रकाश, छोरी गंगा, नातीनातीना र सुरक्षाकर्मीको टोलीसहित शुक्रबार राति साढे ८ बजे नाराणयगढ आउनु भएका प्रचण्डले यहाँस्थित होटल ग्लोवलमा रात बिताउनु भएको थियो ।
अध्यक्ष प्रचण्डले आज बिहान १० बजे नवलपरासीको प्रगतिनगरस्थित एक विद्यालयको उद्घाटन गर्ने कार्यक्रम छ । विद्यालय उद्घाटनपछि प्रचण्डले नवलपरासीका जिल्लास्तरीय कार्यकर्तासित अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
प्रचण्डले अपरान्हृ २ बजे चितवनको रामनगरस्थित रामनगर उच्चमाविको स्वर्णजयन्ती समारोह उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी चितवनले जनाएको छ । स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले शान्ति प्रक्रिया, संविधान लेखन, मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्र बढेको अन्तरकलहका विषयमा विशेष घोषणा गर्ने उहाँका एक सहयोगीले अनलाइनखवरलाई बताए ।
यसअघि उहाँले आज बिहानै जनयुद्ध सुरु गर्नु पूर्व सेल्टर प्रयोग गरी जनयुद्धको दस्तावेज लेखेको भरतपुरस्थित एक घरका परिवारसित भेटघाट गरी उनीहरुसितै चिया खानु भएको थियो ।
Onlinekhabar