बस जुध्दा १० को मृत्यु
इनरुवा, चैत्र २१ -
सुनसरीको लौकहीनजिक सोमबार दुई बस जुध्दा दस जनाको मृत्यु भएको छ । करिब ९० घाइते भएका छन् । मृतकमध्ये आठको मात्र सनाखत भएको छ ।
सनाखत भएकामा सप्तरी फत्तेपुरकी दमन्ता कार्की र अम्बिका बस्नेत, रघुनाथपुरका प्रेम भुजेल, कञ्चलनपुरका राम शर्मा, राइपुरकी देवकी चौधरी, सुनसरी इनरुवाका रामेश्वर चौधरी, भादगाउँ सिनबारीका विश्वनाथ कोइराला र उनकी श्रीमती लीला कोइराला छन् । दुईको सनाखत हुन बाँकी छ । मृतकमध्ये पाँच महिला र पाँच पुरुष छन् ।
घटनापछि उद्धार गर्न गएको प्रहरी भ्यानलाई अर्को बसले ठक्कर दिँदा ६ प्रहरी घाइते भएको इन्स्पेक्टर देवीप्रसाद बरालले बताए ।
विराटनगरबाट सप्तरीको फत्तेपुर गइरहेको ना३ख २३७० र फत्तेपुरबाट धरानका लागि आइरहेको ना२ख ६८३५ नम्बर बस इनरुवा-लौकही खण्डको चिडौलीमा जुधेका थिए । ना२ख ६८३५ नम्बर बस टायर पन्चर भई अनियन्त्रित हुँदा अर्कोसँग जुधी सडकबाट खेतमा खसेका थिए ।
तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य चार जनाको विराटनगरस्थित न्युरो अस्पताल, दुई जनाको सुनसरी जिल्ला अस्पताल र एक जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै घाइतेलाई लिएर सदरमुकाम आइरहेको प्रहरीे भ्यानलाई अर्को बसले ठक्कर दिँदा घाइते ६ प्रहरीको पनि धरान र विराटनगरमा उपचार भइरहेको छ । दुवै बसका घाइतेमध्ये २५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अधिकांशको टाउको फुटेको र हातखुट्टा भाँच्चिएको छ ।
Source:Kantipur News