|

नआत्तिनुस्, नोट साटिन्छन्


काठमाडौ, फाल्गुन ३० -
पूर्वराजाका फोटो भएका नोट साट्न भ्याउनुभएको छैन भने नआत्तिनुस्- चैत १ गतेदेखि ती चलनचल्तीमा नआए पनि तोकिएका स्थानमा सजिलै साट्न सकिन्छ ।
राष्ट्र बैंकसहित सरकारी बैंक र नोट कोषको कारोबार गर्ने निजी बैंकमा त्यस्ता नोट साट्न सकिने राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल काफ्लेले बताए । नोट राजधानीको थापाथलीस्थित राष्ट्र बैंक, बैंकिङ कार्यालयमा साट्न सकिन्छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकका अधिकांश शाखामा पनि साट्न सकिने व्यवस्था मिलाइएको छ । 'पूर्वराजाका फोटो भएको नोट सटही हुँदैन भन्ने हल्ला गलत हो,' उनले भने, 'त्यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध छ ।'
नेपाल बैंकका देशभरका ४० भन्दा बढी शाखामा पूर्वराजाका फोटो भएका नोट दिएर सगरमाथा अंकित नोट लिन सकिन्छ । यसरी साट्दा कुनै शुल्क नलाग्ने उनले जनाए । त्यस्तै, एभरेस्ट बैंक, नेपाल बंगलादेश बैंक र ग्लोबल बैंकमा गएर पनि नोट साट्न सकिन्छ । एभरेस्ट बैंकको नयाँ बानेश्वर, लाजिम्पाट, पुल्चोक, सिमरा, वीरगन्ज शाखाबाट यस्ता नोट साट्न सकिने छ । बंगलादेश र ग्लोबल बैंकका केही शाखाबाट पनि साट्न सकिने जनाइएको छ ।
राष्ट्र बैंकले नयाँ नोट साटिसक्नुपर्ने मिति भने तोकिसकेको छैन । 'नयाँ नोट तत्कालै साट्नुपर्छ भन्ने छैन,' काफ्लेले भने, 'तैपनि सकेसम्म छिटो साट्न राष्ट्र बैंकको आग्रह छ ।'
Source:Kantipur News

Posted by Butwalonline on 11:26 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नआत्तिनुस्, नोट साटिन्छन्"

Leave a reply