|

ली खछ्याङ चिनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

हङकङ, चैत्र २ - चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेस (एनपीसी) को १२ औ“ बैठकले ली खछ्याङलाई नयाँ प्रधानमन्त्री निर्वाचित गरेको छ । बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा जारी एनपीसीको बार्षिक बैठकले शुक्रबार वेन जियाबाओलाई प्रतिस्थापन गर्दै ५७ वर्षीय लीलाई नयाँ प्रधानमन्त्री चुनेको हो । वेनले सन् २००३ मा सरकार प्रमुखको जिम्मेवारी सम्हालेका थिए । सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापनापछिका ली सातौं प्रधानमन्त्री हुन् ।

लीले एनपीसीका करिब तीन हजार प्रतिनिधिको मत पाएको चिनिया“ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को शक्तिशाली पोलिटब्यूरो स्थायी कमिटीमा दोस्रो वरियताका नेता ली उपप्रधानमन्त्री थिए । सीपीसीका महासचिव सी जिनपिङलाई एनपीसी बैठकले बिहीबार राष्ट्रपति तथा केन्द्रीय सैन्य आयोगको अध्यक्ष चुनेको थियो ।

प्रधानमन्त्री सरकार प्रमुख रहने चीनमा राष्ट्रपति मुलुकको सर्वोच्च शक्तिशाली राष्ट्राध्यक्ष हुने व्यवस्था छ । लिले निवर्तमान राष्ट्रपति हु जिन्ताओबाट राजनीतिक संरक्षण पाएको बताइन्छ । हुले यिनैलाई राष्ट्रपति बनाउन चाहेका भएपनि सत्ता सर्घषमा जियाङ जेमिन समर्थक सम्भ्रातवादी गुटले सीलाई अघि सारेको हो । सन् १९५५ मा जन्मिएका लीले १९७६ मा सीपीसीको सदस्यता लिएका हुन् । अंग्रेजीमा राम्रो दख्खल राख्ने लीले बेइजिङ विश्वविद्यालयबाट कानुनमा स्नातक तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेका छन् । सन् २००७ मा सीपीसीको पोलिटब्यूरो केन्द्रीय कमिटीमा चुनिएका यिनी २००८ मा उपप्रधानमन्त्री बनाइएका थिए ।स्रोत : कान्तिपुर

Posted by Butwalonline on 11:17 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ली खछ्याङ चिनको नयाँ प्रधानमन्त्रीमा निर्वाचित"

Leave a reply