अन्तरिम चुनावी मन्त्रिपरिषद्ले पूर्णता पायो
काठमाडौं, चैत ५ - अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले ८ जना नयाँ मन्त्रीहरुलाई सपथ गराएका छन्। राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नव नियुक्त मन्त्रीहरुलाई शीतल निवासमा सपथ गराइएको हो। दलीय सहमतिअनुसार नियुक्त भएका चुनावी सरकारका सबै मन्त्रीहरु पूर्व प्रशासक हुन्।
अर्थ, उद्योग तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी शंकर कोइरालाले पाएका छन्। छविलाल पन्त भौतिक योजना तथा सहकारी, माधव पौडेलले शिक्षा, सूचना तथा सञ्चार र सामान्य प्रशासन, टेकबहादुर घर्ती थापाले कृषि र वन तथा भू संरक्षण, रामकुमार श्रेष्ठले युवा, शान्ति तथा पर्यटन सम्हालेका छन् । उमाकान्त झाले ऊर्जा, विज्ञान प्रविधि र सिँचाइ मन्त्रालय र ऋद्धिबाब प्रधानले महिला बालबालिका तथा भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि आफूले सपथ लिएकै दिन मन्त्रिपरिषद अध्यक्ष रेग्मीले माधवप्रसाद घिमिरेलाई गृह तथा परराष्ट्र तथा हरि न्यौपानेलाई कानुन मन्त्रीमा नियुक्त गरेका थिए। कूल ११ मन्त्री भएसँगै रेग्मी मन्त्रिपरिषदले पूर्णता पाएको छ। दलहरुबीच चुनावी मन्त्रिपरिषदमा ११ जना मन्त्री रहने सहमति बमोजिम रेग्मीले आज मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन्।स्रोत : नागरिक न्युज