आगामी सातादेखि लोडसेडिङ दैनिक दुई घण्टा घट्ने
काठमाण्डौं फागुन २४ - नेपाल विद्युत प्राधिकरणले आगामी सातादेखि लोडसेडिङ दैनिक दुई घण्टासम्म घटाउने भएको छ । कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको मर्मत सकिनासाथ प्राधिकरणले लोडसेडिङ घटाउन सम्भव भएको हो । अहिले दैनिक १२ घण्टा लोडसेडिङ अब १० घण्टामा झर्ने प्राधिकरण प्रणाली सञ्चालन विभागका महाप्रवन्धक राजेश्वरमान सुल्पियाले बताए ।
१ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी सञ्चालनमा आएपछि प्रसारण प्रणालीमा ६० मेगावाट भन्दा बढी विद्युत थप हुनेछ । ‘सकेसम्म दुई, नभएपनि एक घण्टा लोडसेडिङ घट्नेछ तर हाम्रो लक्ष्य दुई घण्टा घटाउने नै हो,’ सुल्पियाले भने, ‘कालीगण्डकी बन्द नगरेको भए यतिबेला लोडसेडिङ घटिसक्ने थियो ।’ उनका अनुसार आइतबारसम्ममा कालीगण्डकी सञ्चालनमा आउँनेछ । स्रोत : ओनलाईन खबर