नवलपरासीमा लागु पदार्थ सेवनकर्ता बढदो
वृजराज कुशवाहा, नवलपरासी,चैत ८ - भारतीय सीमाको जिल्ला नवलपरासीमा लागु पदार्थ सेवनकर्ताको संख्या तिब्र गतिले बढदै गएर १ हजार नाघेपछि नियन्त्रणको क्षेत्रमा काम गरिरहेका संघसंस्थालाई चुनौती थपिएको छ ।
हालै गरिएको एक अध्ययनबाट सार्वजनिक भएको तथ्यांकबाट नवलपरासीमा सुईबाट लागु पदार्थ प्रयोग गर्ने प्रयोगकर्ताको संख्या १ हजार ८ सय १२ जना पुगेको छ । जसमा २० देखी ३५ वर्ष उमेरका प्रयोगकर्ता रहेका छन् । जसमध्ये शुन्य दशमलव ५ प्रतिशत संख्या युवतीको रहेको लागु पदार्थ प्रयोगकर्ता नियन्त्रणको क्षेत्रमा काम गरिरहेको संस्था युथ भिजनले जनाएको हो ।
दौंतरीको साथ, सस्तो उपलब्धता र फैसनको रहरका कारण लागु पदार्थ सेवनकर्ताको संख्या बढदै गएको अनुमान गरिदै गरेको अवस्थामा खुल्ला सिमानाका कारण सेवनकर्ताको संख्या तिब्र गतिले बढेको अध्ययनले देखाएको छ । सीमापारीको बजारमा खुल्ला रुपमा किनन र प्रयोग गर्न पाइृने अवस्थाको सहजताले पनि नेपाली युवायुवतमिा लागु पदार्थ सेवनको लत बढदै गएको अनुमान पनि गरिएको छ । युथ भिजन कार्यालयका प्रमुख एवंम् कार्यक्रम संयोजक मधुसुधन सिंजापतीले भारतीय बजारमा गई सजिलै सेवन गरी नेपाल फर्कने गरेको सुविधाले युवायुवतीहरुमा सुईबाट लागु पदार्थ सेवन गर्नेहरुको संख्या बढेको बताउनुहुन्छ ।
संस्थाका अधिकांश कर्मचारी र पदाधिकारीहरु पनि पुर्व लागु औषध प्रयोगकर्ता भएकाले अध्ययन र यसक्षेत्रमा गतिविधि संचालन गर्न निकै सजिलो भएको बताउने युथ भिजनले नवलपरासीमा विगत एक वर्षदेखि नियन्त्रणका लागि काम गर्दै आएको छ । संस्थाको सम्पर्कमा आएका लागु पदार्थ सेवनकर्ताहरुको सुधारका लागि पुनस्थापना केन्द्र पनि संचालन गरेको छ । यस्ता सुधारकेन्द्रहरु नवलपरासी लगायत भैरहवा, हेटांैडा र काठमाण्डौंमा समेत पुनस्थापना केन्द्रको स्थापना गरि सेवा दिदै आएको छ । सेवाकेन्द्रमा निःशुल्क रुपमा उपचार सेवा प्रदान गरिंदै आएको संस्थाले जनाएको छ ।
युथ भिजन २०५१ सालदेखी संचालनमा रहेको केन्द्रमा राखेर प्रयोगकर्ताहरुको प्राथमिक उपचार, व्यवहार परिवर्तन शिक्षा, एचआईभि रोकथामलागी जनचेतना गतिविधी संचालन गर्दै आएको छ ।