|

देउवा प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री हुँदा सबैभन्दा बढी नागरिक बेपत्ता - वर्षमान पुन

सल्यान, ३ माघ अर्थमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का नेता वर्षमान पुन ‘अनन्त’ले कांग्रेस र एमाले माओवादी नेतृत्वको सरकारमा नआउने र स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार निर्माण गर्न पनि अस्वीकार गरेकाले संविधानसभा पुनःस्थापनामा हुनुपर्ने बताउनु भएको छ । पुनःस्थापित संविधानसभाले विघटित संविधानसभाले टुंगाएका संविधानको विषयवस्तुलाई जारी गर्ने, नयाँ सरकार दिने र निर्वाचन पनि गराउने उहाँको भनाई छ ।

एकीकृत नेकपा (माओवादी) सल्यानको तेस्रो जिल्ला सम्मेलन उद्घाटन गर्न बुधबार शितलपाटी पुग्नु भएका अर्थमन्त्री पुनले क्रान्तिकारी पत्रकार संघ, सल्यानले गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै संविधानसभा पुनःस्थापनामा जानुपर्ने बताउनु भएको हो । उहाँले कांग्रेस एमालेले माओवादीले अघि सारको तीनवटा विकल्प भन्दा वैज्ञानिक विकल्प ल्याए माओवादी छलफल गर्न तयार रहेको समेत बताउनुभयो ।


‘कांग्रेस र एमाले तत्कालका लागि भए पनि कुनै पनि हालतमा यो सरकारमा आउन नमानेपछि यो गतिरोध लम्बिएको हो । माओवादीले कांग्रेस नमान्ने र कांग्रेस एमालेले माओवादी नमान्ने भएपछि दलीय सहमति गरेर निर्वाचन घोषणा गर्ने र स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर निर्वाचनमा जाने हाम्रो दोस्रो विकल्प हो’, उहाँले भन्नुभयो, ‘तर कांग्रेस एमाले यी दुवै विकल्पमा आउन तयार छैनन्, अर्को विकल्प पनि दिन सक्दैनन् ।’

उहाँले संविधानसभा पुनःस्थापना भए संविधानसभाले नै वैधानिक रुपमा सरकार निर्माण गर्ने बताउनुभयो । उहाँले संविधानसभा विघटन हुनु अगाडि टुंगिएको संविधानका विषयवस्तुलाई जारी गरेर बाँकी विषयलाई व्यवस्थापिका संसदको निर्वाचन गरेर टुंगाउन सकिने बताउनुभयो ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले द्वन्द्वकालका घटना सत्य निरुपण तथा मेलमिलाप आयोगले मात्रै टुंगाउन सक्ने बताउनुभयो । ‘संविधानमा स्पष्ट रुपमा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ गतेसम्म जनयुद्धको बेलामा भएका घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगले टुंगाउने छ’, उहाँले भन्नुभयो, ‘त्यो भन्दा बाहिरबाट त्यसबेलाका घटनालाई हेरियो भने त्यो संवैधानिक हुँदैन ।’

उहाँले सर्वोच्च अदालतले बेपत्ता निश्चल नकर्मी र ओखलढुंगाका तत्कालीन सभासद केशव राईको मुद्दामा सत्यनिरुपण मेलमिलाप आयोग गठन गरेर हल गर भनि फैसला गरिसकेकोले अरु पनि त्यसै बमोजिम हुनुपर्ने बताउनुभयो । उहाँले कार्यपालिका र न्यायपालिका आ आफ्नो सिमामा बस्नुपर्ने पनि बताउनुभयो ।

द्वन्द्वकालका घटना व्यूताउँदै जाने हो भने संयुक्त राष्ट्र संघका उच्चस्तरीय आयोगले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र वामदेव गौतम गृहमन्त्री हुँदा नेपालमा सबैभन्दा बढी नागरिक बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरिसकेकोले मुद्दा हाले उनीहरुलाई क्षणभरमै पक्राउ गर्ने अवस्था आउने बताउनुभयो । ‘यूएन उच्चस्तरीय आयोगले शेरबहादुर देउवा प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री हुँदा सबैभन्दा बढी नागरिक बेपत्ता भएको बताएको छ । देवेन्द्रराज कँडेल गृहमन्त्री हुँदा माओवादीको टाउको लिएर आउ पैसा लिएर जाउ भनेको भिडियो अझै पनि छ’, उहाँले भन्नुभयो, ‘यी प्रमाणहरु ल्याएर मुद्दा हाल्ने हो भने उनीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने हुन्छ । तर त्यसरी द्वन्द्व व्यवस्थापन हुँदैन । त्यसैले सत्यनिरुपण तथा मेलमिलाप आयोग बनाएर सबै त्यसैबाट टुंगाउनुपर्छ ।’

अर्थमन्त्री पुनले बुधबार दिउँसो एकीकृत नेकपा (माओवादी) सल्यान जिल्लाको तेस्रो सम्मेलनको शितलपाटीमा उद्घाटन गर्नु भएको छ । मंगलबार एकीकृत नेकपा (माओवादी)को तनहुँको पाँचौ जिल्ला सम्मेलनलाई सम्बोधन गरी सल्यान आईपुग्नु भएको हो ।

Posted by Butwalonline on 8:32 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " देउवा प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री हुँदा सबैभन्दा बढी नागरिक बेपत्ता - वर्षमान पुन "

Leave a reply