एमाओवादी कार्यकर्ताद्धारा एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की
दैलेख, माघ १० - सत्तारुढ एमाओवादी कार्यकर्ताले एक दर्जन पत्रकारलाई डेकेन्द्र बनाउने धम्की दिएका छन् ।माओवादी कार्यकर्ताले ८ वर्षअघि स्थानीय पत्रकार डेकेन्द्रराज थापालाई तड्पाएर हत्या गरेका थिए । अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसमेत सहभागी एमाओवादी दैलेख अधिवेशनको समाचार संकलनका लागि गएका पत्रकारलाई 'डेकेन्द्रको हालत बनाउने' धम्की दिएपछि पत्रकार त्रसित भए ।
एमाओवादी कार्यकर्ताले जिल्लाका पत्रकारलाई आधा घण्टा घेरा हाले । घेराउमा परेका पत्रकारलाई छुटाउन प्रहरी आउनुपरेको थियो । सरकारी समाचार एजेन्सी 'रासस' र एमाओवादी निकट टेलिभिजन च्यानल एबीसीका पत्रकारलाई भने अधिवेशनमा समाचार संकलन गर्न छुट दिइयो ।
एमाओवादी कार्यकर्ताले दैलेखबाट प्रकाशित तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरेका छन् । अधिवेशनअघिको जुलुसमा सहभागी कार्यकर्ताले पत्रिकाको कार्यालयमा ढुंगामुढा गरेका हुन् ।जिल्ला प्रशासन कार्यालय नजिकै रहेको पत्रिका कार्यालयमा भने आक्रमणकारी पस्न पाएनन् । कार्यालय सिसा फुटेको छ ।स्रोत : कांतिपुर