सन् २०१६ सम्ममा कपिलवस्तु खुला दिशामुक्त हुने प्रतिबद्धता
किरणमान बज्राचार्य,कपिलवस्तु , १९ मंसिर-कपिलवस्तुलाई सन् २०१६ सम्ममा खुला दिशामुक्त जिल्ला घोषणा गर्ने राजनीतक दल सहीत सरोकारवालो प्रतिबद्धता जनाएका छन् । जिल्ला विकास समितिको अगुवाईमा जिल्लामा संपन्न एक कार्यक्रममा उनीहरुले सक्रिय १८ उनीहरुले उक्त प्रतिबद्धता जाहेर गरेका हुन् ।
जिविस कपिलवस्तुले पाल्पाको तानसेनमा मंगलबार आयोजना गरेको राजनैतिक दलहरुको सरसफाई सम्बन्धि दुई दिने कार्यशाला गोष्ठीमा प्रतिबद्धता सहित अभियानमा लाग्ने दलहरुले बताएका छन् । “कपिलवस्तुको स्वाभिमान खुला दिशामुक्त अभियान” को मुख्य नारा सहित सहित सन् २०१६ भित्र जिल्लालाई खुला दिशामुक्त बनाउन विभिन्न कार्ययोजनाहरु समेत पारित गरिएको छ । राष्ट्रिय निति २०१७ सम्म खुला दिशामुक्त गर्ने लक्ष्य रहेपनि दलहरुले २०१६ भित्रै लक्ष्य पुग्ने सामूहिक प्रतिबद्धता जाहेर गरेका हुन् । मानव सूचांकमा समेत निकै पछाडी परेका जिल्लाको सरसफाईको अवस्था दयनिय बनिरहेको बेला राजनैतिक दल तथा सरोकारवालाहरुले गरेको प्रतिबद्धताले उक्त अभियानले तिब्रता पाउने सम्भावना बढेको छ ।
जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय सरसफाई समितिका पदाधिकारीहरुले छोटो समयमा प्रभावकारी योजनाका लागि एक महिना भित्र कार्ययोजना जिविस बोर्डबाट अनुमोदन गर्ने बताएका छन् । कार्ययोजनाहरुमा चर्पी निर्माणमा दलका तल्लो स्तकार कार्यकर्ताहरु सम्म कार्यक्रम लैजाने, सरकारी, गैरसरकारी, तह बाट यसलाई अभियानको रुपमा लागू गर्न प्रेरित गर्ने, स्थानिय निकायबाट विनियोजनमा सरसफाई कार्यक्रमलाई प्राथमिकता दिने रहेका छन् । यसै गरि राजनैतिक पदमा मनोनयन र उम्मेद्धवारका लागि घरमा चर्पी अनिवार्य गर्ने, राजनैतिक दल, भातृ संगठन सदस्य, राष्ट्रसेवक कर्मचारीको घरमा अनिवार्य रुपमा २०७० साल भित्र शौचालय निर्माण तथा अभियानलाई सफल पार्ने संस्था, व्यक्तिलाई कदर एंव सम्मान समेत गर्ने बताइएको छ । शौचालय बनाउन जग्गा नभएकाहरुलाई विशेष पहल गरि व्यवस्थापन गरिने समेत समितिका संयोजक एंव स्थानिय विकास अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । अभियानलाई सफल पार्न सबै भन्दा बढि संचारमाध्यमहरुको भूमिका रहने हुदा संचार डेस्कलाई सक्रिय पार्ने, विभिन्न संचार माध्यमलाई परिचालन तथा सरोकारवालाहरु संग आर्थिक संकलन समेत गरिने बताइएको छ ।
कार्ययोजना सहितको प्रतिबद्धताले सरसफाईको सूचांकमा शत प्रतिशतमा लैजाने एकीकृत माओवादीका जिल्ला संयोजक रामलौटन तिवारीले बताउनुभयो । जिल्लामा ग्रामिण खानेपानी तथा सरसफाई कार्यक्रमको अगुवाईमा हाल सम्म ६ वटा गाविस खुला दिशामुक्त घोषणा गरिएको छ भने अझै ७१ गाविस तथा एक नगरपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुपर्ने चुनौती रहेको छ । प्रतिबद्धता पत्रमा जिल्लामा सक्रिय १८ दल तथा विभिन्न सरकारी तथा सरोकारवाला निकाय गरि ४० जनाले लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । जिल्लामा कुल ९० हजार घरधुरीमा ३० हजार ८ सय घरधुरीमा शौचालय रहेको छ भने ६० हजार घरधुरी बाहिरै शौच गर्ने गर्दछन् ।