|

खोप लिएको केही घण्टामै डेढ महिनाको शिशुको मृत्यु

खलङ्गा (बैतडी), मङ्सिर १९- बैतडीको रोडिदेवलमा खोप लिएको केही घण्टामै डेढ महिनाको शिशुको मृत्यु भएको छ। रोडिदेवल-३, रहपाटी बस्ने प्रकाश भण्डारीको डेढ महिने छोरा निरज भण्डारीको बिसिजी र डिपिटी सुई दिएलगत्तै मृत्यु भएको हो।

रोडिदेवल उपस्वास्थ्य चौकीमा कार्यरत मासिका हिरादेवी भण्डारीले आइतबार दिउँसो सुई दिएलगत्तै दूध चुस्न छोडेको शिशुको राति मृत्यु भएको स्थानीय राजु भण्डारीले बताए। मृतकका आफन्त भण्डारीले दुईवटा सुई एकैसाथ दिइएपछि शिशु सिकिस्त बन्दै गएर राति ११ बजे मृत्यु भएको जानकारी दिए।

जिल्लाको दक्षिणमा पर्ने दुर्गम गाविस रोडिदेवलमा घटेको उक्त घटनाको जानकारी आएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय बैतडीले दुई जना स्वास्थ्यकर्मी त्यसतर्फ पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका सहायक मनोज ओझाले बताए।

सुई लगाएको केही घण्टामा शिशुको मृत्यु भएको भन्ने खबर आए पनि उक्त ठाउँमा फोन नलाग्ने भएकाले विस्तृत जानकारी आउन नसकेको ओझाले बताए। उक्त घटनाबारे मृतकका घर परिवारले स्थानीय रोडिदेवल चौकीमा खबर गरेपछि प्रहरी टोलीसमेत त्यसतर्फ गएको बैतडीका प्रहरी निरीक्षक लालबहादुर साउदले बताए। रासस(समाचार  नागरिक न्यूज बाट )

Posted by Butwalonline on 9:53 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "खोप लिएको केही घण्टामै डेढ महिनाको शिशुको मृत्यु"

Leave a reply