|

कांग्रेस नेता भीमबहादुर तामाङको निधन

काठमाडौ, मंसिर १६ - कांग्रेस नेता भीमबहादुर तामाङको शनिबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ । करिब ७८ वर्षीय नेता तामाङको हृदयघातका कारण निधन भएको जनाइएको छ । उनी नेपाली राजनीतिमा इमानदार र निष्ठावान नेताका रुपमा परिचित थिए ।

कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले नर्भिक अस्पताल परिसरमा उनको निधनको औपचारिक पुष्टी गरेका छन् । आज बिहान मर्निङ वाक बाट फर्किएका तामाङलाई स्वाँ स्वाँ बढेपछि अस्पताल ल्याइएको थियो । नर्भिक अस्पताल स्रोतका अनुसार तामाङलाई ८: ४५ मा अस्पताल ल्याइपुर्‍याउँदा  उनमा जीवनको कुनै लक्षण थिएन । उनलाई तुरुन्तै सीपीआर लगायतका विभिन्न चिकित्सकीय प्रत्रिया गर्दा समेत उनमा जीवनको लक्षण नदेखिएको अस्पतालले जनाएको छ ।

राणा शासन तथा निरंकुश राजतन्त्र विरुद्ध लामो संघर्ष गरेका तामाङले आफ्नो राजनीतिक जीवन स्वच्छ राख्न सफल भएका थिए । राजनीतिमा अन्तिम समयसम्म सक्रिय उनी पार्टी केन्द्रीय सदस्य थिए । पूर्व कानून मन्त्री समेत भएका तामाङ पछिल्लो कांग्रेस महाधिवेशनमा सुशील कोइरला र शेरबहादुर देउवासंगै सभापति पदमा प्रतिस्पर्धा समेत गरेका थिए ।

उनको निधनको खबरसंगै कांग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल लगायतका नेता तथा कार्यकर्ता, सुभेच्छक तथा आफन्तजनको नर्भिक अस्पतालमा भिड लागेको छ ।

उनको १ छोरा र १ छोरी छन् । उनी ०५४ साल देखि कानुन व्यवसायी तथा कांग्रेसबाट पूर्व सभासद् समेत रहेका राधेश्याम अधिकारीको घरमा बस्दै आएका थिए । गान्धीबाधी सोंचका तामाङ सादा जीवन बिताउँथे । उनी बीपीको समाजवादी चिन्तनबाट प्रेरित थिए । उनको शिक्षा दार्जिलिङमा भएको थियो ।

दोलखा स्थायी घर भएका तामाङ ००७ सालको क्रान्तिदेखि नै सक्रिय रहेर ०१७ मा प्रवास समेत गएका थिए । उनी प्रजातन्त्रका लडाईका क्रममा पटक पटक जेल समेत गएका थिए । उनको पूरा जीवान संघर्षमा बितेको थियो । उनी जनजाति समूदायबाट प्रखर व्यक्तित्वका रुपमा आफ्नो स्थान बनाएका थिए । उनको निधनप्रति कांग्रेस सभापति कोइरालाले गहिरो दुःख व्यक्त गरेका छन् । 'उहाँले अपनाएको बाटो र सिद्धान्त सबैका लागि प्रेरणादायी छ,' उनले भने ।

त्यस्तै, उपसभापति पौडेलले प्रखर व्यक्तित्व र अटर सिद्धान्तवादी नेताको निधन भएको दुःख व्यक्त गरे ।

तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि अपरान्ह १२ बजेदेखि ४ बजेसम्म सानेपास्थित पार्टी कार्यालयमा राखिने आचार्यले जानकारी दिए ।
समाचार   कांतिपुर बाट 

Posted by Butwalonline on 8:01 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कांग्रेस नेता भीमबहादुर तामाङको निधन "

Leave a reply