जंगली हात्ती मार्न सरकार असफल भएकोमा चितवन बन्द
चितवन,पौष ४ । चितवनको माडी क्षेत्रमा आतंक मच्चाउँदै आएको जंगली हात्ती मार्न सरकार असफल भएको भन्दै चितवनका आठ राजनीतिक दलले आज चितवन बन्दको आह्वान गरेका छन् ।
बन्द बिहान ११ देखि ३ बजेसम्म रहने छ । आज दिनभरमा पनि हात्ती नमारिए भोलिदेखि दिनभर नै चितवन बन्द गर्ने चेतावनी उनीहरुको छ । मान्छे देख्ने वित्तिकै झम्टेर मारिहाल्ने जंगली हात्ती धुर्बे बेपत्ता भएपछि चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी भने हैरान भएका छन् । उता, माडीका स्थानीयवासीले हात्ती मार्न दवाव दिंदै आज चौथो दिन पनि प्रदर्शन जारी राखेका छन् । उनीहरुले हिजो गर्दी गाविसको कार्यालयमा तोडफोड गरेका थिए ।
धु्रवेले चितवन राष्ट्रिय निकुन्जसँग जोडिएका चितवन, बारा, पर्सालगायतका जिल्लामा अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको छ । पछिल्लो पटक गत शनिबार राति ध्रुबे हात्तीले माडीमा एक दम्पत्तिलाई मारेको थियो । चार दिनदेखि मृतक दम्पत्तिको शव सडकमै राखेर स्थानीय प्रदर्शनमा उत्रिएका हुन् । निकुञ्ज प्रशासनले भने रातभर खोजी गरेपनि ध्रुवे फेला नपरेको जनाएको छ । हात्ती नियन्त्रणमा लिन ७ वटा टोली खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्रोत :ईमेज च्यानल
