जिप दुर्घटना हुँदा चारको मृत्यु
इलाम, कार्तिक २७ - फाल्गुनन्द मार्ग अन्तर्गत पश्चिमी इलामको बाँझो-९ मा सोमबार दिउँसो भएको सडक दुर्घटनामा चार जनाको ज्यान गएको छ ।
बाँझोको बर भञ्ज्याङस्थित सडक खण्डवाट करिव दुई सय मिटर तल यात्रुवहाक जिप झरेको थियो । पाँचथरको लिम्वास्थित कन्याटारवाट यात्रु लिएर झापाको दमकतर्फ हिँडेको मे.१.ज ५३६ नं. को सफारी जिप दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको ज्यान गएको हो ।
घटनामा पाँचथर कुरुम्बा १ का ५० वर्षीय धनप्रसाद योङहाङ, उनकी श्रीमती ४६ वर्षीया मनकुमारी योङहाङ, पाँचथरकै लिम्बा खान्द्रुङका ५० वर्षीय राजेन्द्रप्रसाद भट्टराई र पाँचथरको लिम्बास्थित कन्याटारकी चार वर्षीया प्रनिता तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ ।तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र अन्यको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि दमकतर्फ लगिएको छ । घटनापछि बाँझोको चिसापानीवाट प्रहरी टोली त्यहाँ पुगेको र चुलाचुलीको पेल्टीमारीवाट थप प्रहरी टोली त्यसतर्फ पठाइएको प्रहरी निरीक्षक गणेश बास्तोलाले बताए । इलाम र पाँचथरका दुई दर्जन गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने सडक खण्डमा बर्षेनी सवारी दुर्घटना हुँदा धेरै यात्रुको ज्यान जाने गरेको छ ।
स्रोत :कांतिपुर