दसैंको निम्ति ६ टन अस्ट्रिचको मासु बजारमा
भैरहवा, कार्तिक ५ - अस्ट्रिच नेपाल प्रालिले यस पटकको दसैंको निम्ति ६ टन अस्ट्रिचको मासु बजारमा ल्याएको छ । विश्वमैं सर्वाधिक महँगो मानिने अस्ट्रिचको मासु शौखिनका लागि बजारमा ल्याइएको कम्पनीका अध्यक्ष सीपी शर्माले बताए । विशेष गरी रूपन्देहीको बुटवल, भैरहवा, काठमाडौं र पोखरालाई लक्षित गरी अस्ट्रिचको मासु दसैंका लागि बजारमा ल्याइएको हो । 'दसैं पर्वका लागि बजारमा मासु गइसकेको छ,' शर्माले भने, 'यसपटकको दसैँमा मासु पारखीका लागि यो मासु नयाँ स्वादका रूपमा रहने छ ।' उनका अनुसार अस्ट्रिचको मासु आपूर्तिका लागि रूपन्देहीमा क्वालिटी फ्रेस हाउस बुटवललाई जिम्मा दिएको छ ।बुटवलका अन्य डिपार्टमेन्टल स्टोरमा पनि यो मासु उपलब्ध हुने छ । काठमाडौंमा क्रेजी बर्गर ठमेल, अचानो डटकम (कपन) र भाटभटेनी डिपार्टमेन्टल स्टोरमा समेत अस्टि्रचको मासु उपलब्ध हुन्छ । स्वस्थकर मानिने अस्ट्रिचको मासु कोलस्ट्रोल फ्रि हुन्छ । रेड मिटका रूपमा रहे पनि यो मासुको उपभोगले कुनै हानी नगर्ने दाबी कम्पनीको छ । 'रक्तचाप, मुटुका बिरामीलाई यसको मासु निकै लाभदायक हुन्छ' शर्माले भने, 'अस्ट्रिचको मासु तयार गरी १८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखेर ६ महिनासम्म प्रयोग गर्न सकिन्छ ।' कम्पनीले अस्ट्रिचको मासु आफ्नो फर्ममा प्रतिकिलो मूल्य २ हजार रुपैयाँ कायम गरेको छ । अन्य बिक्री केन्द्रले ढुवानीलगायत विभिन्न सेवा जोडेर केही बढीमा बिक्री गर्न सक्छन् । प्रतिकेजी मासुमा, बोसो हाड, नशा, छाला केही नराखी शुद्ध मासुको मात्र तौल राख्ने गरिएको छ ।
गत वर्षबाट मासु बिक्री गर्न थालेको कम्पनीले भदौसम्ममा २० टन मासु बिक्री गरिसकेको छ । कम्पनीले गत सिजनसम्म खाने प्रयोजनका लागि ६ हजार अण्डा बिक्री गरिसकेको छ । प्रतिअन्डा २ हजारमा बिक्ने गरेको
छ । पाँच वर्ष अघि रूपन्देहीको गंगोलिया-१ मा विदेश निर्यात गर्ने योजनाका साथ करिब ३० करोड रुपैयाँको लगानीमा अस्टि्रच चराको व्यावसायिक पालन गर्न थालेको हो । २० बिघा क्षेत्रफलमा विस्तार गरिएको यो र्फम दक्षिण एसिया र पूर्वी एसियाकै हालसम्मको सबैभन्दा ठूलो फार्म भएको र यसको लगानी अहिलेसम्म ५० करोड रुपैयाँ नाघेको शर्माले जनाए ।
अस्टि्रजको मासु सर्वाधिक स्वास्थ्यकर रातो मासु हुने भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च छ । भिटामिन र अन्य मिनिरल उच्च हुनुको साथै ओमेगा (तीन) तत्व प्रचुरमात्रामा हुनुले यसको माग उच्च छ । 'अस्टि्रजको प्रत्येक चिज मूल्यवान छ' शर्माले भने, 'अस्टि्रचको छाला, बोसो, हाड, प्वाँखको ठूलो परिमाणमा विदेशी मुलुकबाट माग हुन थालेको छ ।' यसको तौल डेढदेखि साढे दुई क्विन्टलसम्म हुन्छ । सन् २०१३ मा २ सय टन र २०१४ मा २ हजार ५ सय टन मासु बिक्रीका लागि बजारमा ल्याउने योजना कम्पनीको छ । माग अनुरूपको आपूर्ति गर्न नसके पनि ठूला तारे होटेल, डिपार्टमेन्टल स्टोर र उच्च स्तरिय रेष्टुरेन्टमा यो मासुको माग हुँदै आएको छ ।
रूपन्देहीको ग्रगोलिया-१ स्थित अस्टि्रज नेपाल प्रालिमा व्यावसायिक रूपमा पालिएका अस्टि्रच चरा । तस्बिरः माधव/कान्तिपुर
स्रोत :कांतिपुर