जातीय विभेद र छुवाछुत अन्त्यका लागी राष्ट्रव्यापी सामूहिक अभियान
बिनोद परियार,बुटवल,४ असोज । भदौ २७ गतेदेखि सुरु भएको जातीय विभेद र छुवाछुत अन्त्यका लागी राष्ट्रव्यापी सामूहिक अभियानलाई सफल पार्न बुटवलमा स्थानीय आयोजक तयारी समिति गठन भएको छ । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति गोविन्द खनालको संयोजकत्वमा ९ सदस्यीय तयारी समिति गठन गरिएको हो ।
आज बुटवलमा बसेको तयारी समिति बैठकले आगामि ९ गते बुटवलमा जातिय छुवाछुतका बिषयमा अन्तरक्रिया कार्यक्रम एंव टोलीलाई स्वागत गर्ने निर्णय गरेको छ । समितिमा काहुराष्ट्रका नेत्र पाण्डे,रेडियो जागरणका शिवजी गायक,ईन्द्रेणी ग्रामिण विकास केन्द्रका प्रदीप शाह,गैरसरकारी संस्था महासंघ रुपन्देहीका सुमित्रा शर्मा,फोसाडका पुरुषोत्तम घिमिरे,ईन्सेकका अमृत गिरी,सृजन समाजका रिमा विसि र आदिवासि जनजाती पत्रकार संघका टेक बहादुर मास्की राना रहनुभएको छ । सामाजमा बर्षेदेखि जरा गाडेर बसेको जातिय छुवाछुतका विरुद्ध गैरदलित युवाहरुको प्रयास सकरात्मक भएको भन्दै रुपन्देहीमा पनि युवाहरुलाई उत्साह थप्ने र सचेतनामुलक कार्यक्रम गर्न लागिएको संयोजक गोविन्द खनालले बताउनुभयो । टोली असोज ९ गते चितवन,तनहु,कास्ती,पर्वत स्याङजा,पाल्पा हुदै बुटवल आउने कार्यक्रम रहेको छ । २५ सदस्यीय गैरदलित युवाहरुले देशब्यापी रुपमा जातिय छुवाछुतका विरुद्ध अभियान शुरु गरेका छन् । रमेश अधिकारीको नेतृत्वमा जातिय छुवाछुत विरुद्ध मेची महाकाली यात्रा शुरु भएको हो । अभियान असोज २१ गते राजधानी पुगेर सम्पन्न हुने छ ।