हिउँपहिरोमा परी बेपत्ता भएका ३ हिमाल आरोही अझै फेला परेनन्
गोरखा, आश्विन ९ - मनास्लु हिमालमा हिउँपहिरोमा परी बेपत्ता भएका ३ हिमाल आरोही अझै फेला परेका छैनन् । बेपत्ता हुनेमा क्यानेडियन नागरिक दोमिनीडेभ ओइनेट र दुई फ्रे न्च नागरिक रेमी जर्ज लेक्युज र ग्रोगरी कुग्रो कोस्टा छन् । उनीहरूको सोमबार दिनभर खोजी गरे पनि भेट्न नसकिएको उद्धारमा आएको सिमि्रक एयरका महाप्रबन्धक योगराज कँडेलले बताए । सामागाउँ ४ को मनास्लु हिमालको ३ नम्बर क्याम्पमा बिहान पाँच बजे गएको पहिरोमा परी बेपत्ता भएकाको जीवितै उद्धार हुने कम सम्भावना रहेको उद्धारमा खटिएकाहरूले बताएका छन् ।
'स्थानीय शेर्पा समुदायका व्यक्तिले उनीहरूको खोजी गरिरहेका छन्,' उनले भने, 'मृतक र अन्य घाइते सबैको उद्धार गरिसकेका छौं ।' आइतबार गएको पहिरोमा ८ आरोहीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृत्यु भएकामध्ये सबैको सोमबार सनाखत भइसकेको छ । एक नेपाली, एक जर्मन, एक स्पेनी, एक इटालेली र चार फ्रान्सेली नागरिकको पहिरोमा परी मृत्यु भएको प्रहरी नायब उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
आठै जनाको घटनास्थलमा मृत्यु भएको हो । घटनामा १० घाइते छन् । घाइतेमध्ये धेरैको ढाडमा चोट छ । घाइते सबैको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 'निजी एयरलाइन्सका हेलिकप्टरले मृतक सबैको शव काठमाडौं पुर्याइसकेको छ,' कुँवरले भने । शव तथा घाइतेलाई सिमि्रक, माउन्टेन र फिस्टेल एयरका हेलिकप्टरले आइतबार र सोमबार काठमाडौं पुर्याएका हुन् ।
घटनामा परेका थप आठ जना हिमालको आधार शिविरमा रहेको प्रहरीले जनायो । 'प्रहरीको रिपोर्टिङअनुसार उनीहरू यता र्फकन मानेनन्,' डीएसपी कुँवरले भने, 'सकेसम्म हिमाल आरोहणमा जाने नसके ट्रेकिङमार्फत र्फकने तयारीमा छन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ ।' घाइते र आधार शिविरमा रहेका कुन-कुन देशका नागरिक छन् भन्ने विषयमा खुल्न सकेको छैन । हिमाल आरोहणका लागि फरक-फरक स्थानबाट थामसेर्कु ट्रेकिङ, चोयु, हिमालयन गाइड, सेभेन समिट र एक्सप्रेस डट कम ट्रेकिङ कम्पनी ऐजेन्सीबाट पर्यटक मनास्लु पुगेका थिए ।
उनीहरू सुतिरहेका बेला हिमपहिरो गएको हो । घटनाको जानकारी पाएलगत्तै निजी एयरलाइन्स कम्पनीका हेलिकप्टरले आइतबार दिनभर उद्धारको प्रयास गरेका थिए । पाँच घाइते र दुई जनाको शव मात्र पहिलो दिन ल्याइएको थियो । सदरमुकामबाट ५३ कोस टाढा घटनास्थल हिमालको सात हजार मिटर उचाइमा पर्छ ।
आरोहणका लागि निकै कठिन मानिने १ हजार १ सय ५६ मिटर पार गरेको अवस्थामा उनीहरू हिमालको चुचुरोमा पुग्ने थिए । हिउँ पहिरो गएको स्थानबाट नजिकको गाउँ आइपुग्न दुई दिन पैदल हिँड्नुपर्छ । पर्यटक सात दिनअघि हिमाल आरोहणमा हिँडेका थिए । फरक-फरक स्थानबाट हिमाल पुगेका उनीहरूले शुक्रबार बिहानबाट एकैसाथ हिमालको आधार शिविरबाट आरोहण सुरु गरेका हुन् । आरोहणमा २९ जनाको समूह सहभागी रहेको प्रहरीले जनाएको छ ।
'अघिल्लो दिनसम्म मौसम सफा थियो । आरोहीहरू क्याम्पमा सुतिरहेका थिए । बिहानीपख अचानक आकाश पड्केजस्तो आवाज आयो,' काठमाडौंको नर्भिकमा उपचाररत जर्मन नागरिक एन्ड्रयु रेइटरले भने, 'त्यसको एकैछिनमा पहिरो खस्यो ।' खसेको हिम पहिरोले अन्य टेन्टलाई माथिबाट छोपेर बगाएको उनले बताए । 'पहिरोमा माथि परेकाहरू बाँच्न सके,' उनले भने । क्याम्प ३ मा रहेका २५ टेन्ट सबैलाई हिमपहिरोले बगाएको थियो । बाँचेकाहरूले विभिन्न सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार पहिरोले टेन्ट बनाइएको स्थान 'युद्धभूमि' जस्तो भताभुंग बनाएको थियो । त्यस्तै, क्याम्प २ मा भएका १२ टेन्टमा पनि क्षति पुगेको थियो ।
यसपालि मनास्लुका लागि पर्यटन मन्त्रालयबाट २५ टोलीका २ सय ३१ ले अनुमति लिएका छन् ।
समाचार कांतिपुर बाट