बच्चा जन्माई खाल्डोमा गाड़ने एक महिला पक्राउ
चितवन, भदौ २०- पूर्वी चितवनको पिप्ले गाविस-१ स्थित जितपुरमा एक महिलाले बच्चा जन्माई खाल्डोमा गाडेको तथ्य फेला परेको छ। भदौ १६ गते बच्चा जन्माई खाल्डोमा हालेको रहस्य आज मात्रै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्थानीयले दिएको सूचनाको आधारमा स्थानीय डिल्लबहादुर राईकी श्रीमती वर्ष ३८ की फूलमाया राईले भदौ १६ गते राति बच्चा जन्माई आफ्नै घरको पछाडि खाल्टो खनी गाडेको पुष्टि भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ।
जानकारी पाउनासाथ खटिई गएको प्रहरी टोलीले आवश्यक अनुसन्धानपश्चात शवलाई खाल्टोबाट खनी निकालिएको छ। शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा पठाइएको प्रहरीले जनाएको छ।
फूलमायालाई नियन्त्रणमा लिई आवश्यक कारबाही सुरु गरिएको चितवन प्रहरीले जनाएको छ। यता भरतपुर-१ स्थित नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। सुदा सुनारको छोरा आठ वर्षीय प्रदीप सुनार नारायणी नदीमा नुहाउने क्रममा हिजो साँझ डुबेर हराइरहेको प्रहरीले जनाएको छ।
प्रहरी टोलीले आज बिहानदेखि खोजी जारी राखे पनि फेला पार्न सकेको छैन। उता चितवनको पटिहानीमा विशालु च्याउ खाएर एकै परिवारका चार जना बिरामी परेको र उनीहरूको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस( नागरिक न्यूज मा प्रकाशित )