पूर्वराजाको म्याग्दी भ्रमण रद्द पछि म्याग्दीका बजार खुल्यो
पोखरा, असोज ५ - पूर्वराजा ज्ञानेन्द्र शाहको आज हुने भनिएको म्याग्दीको धार्मिक भ्रमण रद्द भएको छ। स्थानीय राजनीतिक दलहरुले शुक्रबार शाहलाई आउन नदिन म्याग्दी जिल्ला बन्द घोषणा गरेपछि आजको लागि तय भएको भ्रमण रद्द भएको हो। धार्मिक भ्रमण प्रचार समितिका संयोजक अर्जुन बस्नेतले बन्दमा जोखिम मोलेर जानुभन्दा म्याग्दीको भ्रमण नै रद्द गर्नु उचित लागेको बताए|
उनकाअनुसार पूर्वराजा शाह आज दिनभर पोखरामै आराम गर्नेछन्। 'भोलि (शनिबार) देखि अन्य जिल्लाहरुको भ्रमण भने यथावत हुनेछ' बस्नेतले नागरिकसँग भने,'हामी कसैले बन्दै गर्छ भने निहुँ खोज्दै जाँदैनौं।'
साता लामो पश्चिमाञ्चल क्षेत्रको धार्मिक भ्रमणका लागि शाह हिजो पोखरा आईपुगेका हुन्। उनले शुक्रबार म्याग्दीको महादेव मन्दिरको दर्शन गरी एकदिन उतै बस्ने कार्यक्रम थियो।
पृथ्वीराजमार्ग हुँदै नीजि मोटरमा आएका उनी फेवातालपारीको फिस्टेल लजमा बसेका छन्। उनी आउँदा सयौं पोखरेलीले झरीको वास्ता नगरी सडकमा लामबद्व भएर स्वागत गरेका थिए। प्रचार संयोजक बस्नेतले शाह शनिबार बाग्लुङको कालिका मन्दिर र पर्वतको गायत्री मन्दिर दर्शन गर्न जाने कार्यक्रम रहेको बताए।
शुक्रबार बिहानैबाट बन्द भएको म्याग्दीका बजार, पसल, यातायात पूर्वराजा शाहको भ्रमण रद्द भएलगत्तै केहीबेर अघिबाट खुलेको छ। नागरिक न्यूज बाट