|

दिउँसो साउदीबाट श्रीमान्ले पठाएको पैसा आयो, बेलुकी मृत्युको खबर


म्याग्दी,भाद्र २६ - ०६९ जेठ १७ गते दिउँसो साउदीबाट श्रीमान्ले पठाएको ६७ हजार रुपैयाँ घर खर्च लिएर फुरुङ्ग बन्दै घर फर्केकी डिलमाया सुनारलाई घरको दैलो नटेक्दै मोबाइलमा फोन आयो, यामबहादुर सुनारको मृत्यु भएको छ ।

'बिहान मोवाइलमा मलाई त्यति सन्चो छैन, दसैंमा छुट्टीमा आउँछु । अहिले यतिले घर खर्च चलाऊ भन्नुभाथ्यो, बेलुका नराम्रो खबर आयो,' डिलमाया भक्कानिइन् । बोल्न सकिनन् । छेवैमा बसेका १० वर्षे विशाल र ७ वर्षे विवेकले पनि आमाको मुखतिर हेर्दै पिलपिल आँसु झारे ।

धन कमाउन साउदी गएको एक वर्ष आठ महिनापछि रत्नेचौर गाविस ७ अर्जमका ३८ वर्षे यामबहादुरले साउदीमै आत्महत्या गरेको खबर परिवारले पायो । तर मृत्युको खबर पाएको तीन महिना १० दिन पुग्दासम्म शव पाएको छैन । यामबहादुरको मृत्युको खबर साउदीमा कार्यरत आफन्त सोमबहादुर सुनारले गराएका थिए ।

यामबहादुरको शव नेपाल ल्याउन सोमबहादुरले साउदीस्थित नेपाली दूावासमा लिखित र अर्का आफन्त आर्जन सुनारले काठमाडौंस्थित वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पहलका लागि अनुरोध गरे पनि कसैको सहयोग नपाएको परिवारको गुनासो छ ।

'दूतावासका कर्मचारी शरद पौडेलले छिट्टै पठाउने व्यवस्था मिलाउने आश्वासन दिएका हुन् । तीन महिना भयो, अझै शव आएन । संस्कारअनुसार काजक्रिया गरूँ शव छैन, त्यसै बसूँ भाईको मृत्यु भएको छ । कठिन पीडा हुँदोरहेछ,' जेठा दाजु भीमबहादुरले सुनाए ।

कमाउने श्रीमान्को मृत्यु भएपछि दुई छोरासँगै ८१ वर्षीया सासू मनसुवाको पालनपोषणको जिम्मासमेत डिलमायाको काँधमा परेको छ ।

बाबुको मृत्युको खबरसँगै नजिकको म्याजिक स्टेप बोर्डिङ स्कुलमा पढ्ने छोराहरू सामुदायिक स्कुलमा फर्केका छन् । 'छोराहरूको पढाइ खर्च पठाउने मान्छे नै नभएपछि मैले कसरी बोर्डिङ पढाउने ?' डिलमायाले भनिन् ।कांतिपुर मा प्रकाशित 


Posted by Butwalonline on 7:43 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दिउँसो साउदीबाट श्रीमान्ले पठाएको पैसा आयो, बेलुकी मृत्युको खबर"

Leave a reply