नेपालप्रति गहिरो स्नेह रहेको छ -इरानी राष्ट्रपति
काठमाण्डौं, भदौ १५- असंलग्न मुलुकहरुको शिखर सम्मेलनमा भाग लिन तेहरानमा पुगेका सरकारप्रमुख तथा राष्ट्रप्रमुखहरुको सम्मानमा इरानी राष्ट्रपति मोहम्मद अहमनिदेजादले गएराति रात्रिभोजको आयोजना गर्नुभएको छ ।
रात्रिभोजमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रसचिव दुर्गाप्रसाद भट्टराई र शिष्टाचार महापाल डा. निरञ्जनमान सिंह बस्नेतको सहभागिता रहेको थियो ।
तेहरानको प्रसिद्ध स्थान पर्सियन गल्फ हलमा आयोजित रात्रिभोजमा परम्परागत इरानी कला र नाच प्रस्तुत गरिएको थियो ।सो अवसरमा राष्ट्रपति अमनिदेजादले इरान सबै राष्ट्रसँग मित्रताको हात बढाउन चाहन्छ भन्दै कोही कसैसँग शत्रुता साँच्न आवश्यक नरहेको बताउनुभयो ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत नेपाली प्रतिनिमण्डलसँग पनि राष्ट्रपति अहमनिदेजादले सम्मान प्रकट गर्दै नेपालप्रति गहिरो स्नेह रहेको बताउनुभयो ।करिब चार घन्टा चलेको सो रात्रिभोजमा इरानी राष्ट्रपतिले सामूहिक र एकल कुराकानीसमेत गर्नुभएको थियो । रासस(समाचार ऑनलाइन खबर बाट)