|

बोक्सो को आरोपमा कुटपिट गर्दै गाउँ निकाला

काभ्रे, श्रावण २६ - बोक्सो को आरोपमा कुटपिट गर्दै गाउँबाट लखेटिएपछि शिखर आम्बोट गाविसको एक परिवार विस्थापित भएको छ । गाउँकै पोते लामा र उनका छोरा सार्कीमानले कुटपिट गरी गाउँमा बस्न नदिएपछि शिखर आम्बोट-३ का ६५ वर्षे सूर्यमान लामाले परिवारै लिएर गाउँ छाडेका हुन् । उनको परिवार अहिले सदरमुकाममा बसेर गुजारा गर्दै आएको छ । गत असार २६ गते पीड़ितले  खेतमा काम गरिरहेका  बेला  पोते र सार्कीमानले तँ बोक्सो होस् , मेरो भैंसीलाई भेद लगाई बिरामी बनाइस् भन्दै सबै परिवारलाई  कुटपिट गरी कुटपिटपछि तुरुन्तै गाउँ नछोडे र अन्त कतै उजुरबाजुर गरे ज्यान मार्ने धम्की दिएका थिए  । 'त्यसपछि  सूर्यमान लामाले परिवारै लिएर गाउँ छाडे । गाउँबाट विस्थापित भएको तीन जनाको उनको परिवार धुलिखेलमा सहयोगका लागि हात फैलाउँदै हिँडिरहेको छ ।

पोतेका बाबु देवानसिंह तत्कालीन गाउँ पञ्चयतको वडाध्यक्ष हुँदा २०३१ सालमा सूर्यमानले ७ सय रुपैयाँ सापटी लिएका थिए । रकम लिएपछि देवानले सूर्यमानको घरबारी कब्जा गरे । सूर्यमानका अनुसार त्यही पैसा तिर्न २० वर्षसम्म देवानको घरमा हली को काम गर्थे । श्रीमती पनि उनकै घरमा कपडा धुने, भाँडा माझ्ने, खाना पकाउने, गाई-भैंसीको गोबर सोहर्ने काम गर्थिन्। लामासँग लिएको ७ सय रुपैयाँ ऋणको २०३३ सालमा साँवा ब्याजसमेत गरी ५ हजार २ सय रुपैयाँ बुझाए तर उनको घरबारी भने फिर्ता भएन ।

आफूसँग भएको दुई रोपनी बारीसमेत देवानको परिवारले कब्जा गरेपछि सूर्यमान परिवारसहित गाउँमै ज्याला मजदुरी र स्थानीय चन्द्रबहादुर लामाको खेत कमाई छाप्रो बनाई जीवन निर्वाह गर्दै आएका थिए । 'देवान सिंले कब्जामा राखेको मेरो घरबारी आफ्नो नाममा गराइसकेको रहेछ,' उनले भने, 'ऊ मरेपछि उसकी श्रीमती रानी र छोरा पोतेले त्यो जग्गा आफ्नो नाममा नामसारी गरे ।' २ रोपनी आफ्नो जग्गा उनीहरूले हडपेपछि न्यायको माग गर्दै उनले धेरैलाई हारगुहार गरे पनि तर उनको कुरा कसैले सुनेनन् ।

अहिले उही देवानको परिवारबाटै गाउँ निकाला हुनु परेको दुखेसो सूर्यमानले सुनाए । उनी न्यायको खोजीमा धुलिखेल र राजधानीका गल्लीहरूमा भौंतारिँदैछन् । 'जसरी भए पनि न्याय दिलाइदिनु पर्‍यो,' उनले अनुरोध गरे ।

गाउँ निकालापछि उनले जीउ ज्यान सुरक्षा र आफ्नो घरबारी फिर्ता गराइदिन साउन १२ गते जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । निवेदन दर्ता भएपछि प्रशासन कार्यालयले दोषीलाई पक्राउ गर्न प्रहरीलाई पत्रै लेखेर निर्देशन दिइसकेको छ । 'पोते र उसको छोरा सार्कीमानलाई खोजिरहेका छौं,' जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने, 'छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौं ।' पीडित सूर्यमानले प्रशासन कार्यालयमा निवेदन हालेको थाहा पाउनेबित्तिकै पोते र सार्कीमान फरार छन् ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 9:20 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बोक्सो को आरोपमा कुटपिट गर्दै गाउँ निकाला"

Leave a reply