मेडिकल कलेजको रसायनयुक्त ढल कारण प्रभास तालका हजारौँ माछा मरे
टेकनारायण भट्टराई, पाल्पा, साउन ३- लुम्बिनी मेडिकल कलेजले धार्मिक एवं पर्यटकीय महत्वको प्रभास तालमा विषाक्त ढल मिसाएका कारण हजारौँ माछा मरेका छन्। दिशा पिसाब र अपरेसन वार्डबाट निस्कने रसायनयुक्त ढल सोझै तालमा मिसाइएको प्राविधिक परीक्षणबाट खुलेको हो |
माछा मरेपछि प्रभास क्षेत्र दुर्गन्धित बनेको छ भने चापाकलबाट जमिनमुनिको पानी तानेर खाने स्थानीय सशंकित बनेका छन्। कृषि कार्यालयको पहलमा प्राविधिक टोलीले स्थलगत अध्ययन र प्राविधिक परीक्षणपछि ताल क्षेत्रमा पर्यावरणीय जोखिम बढेको बताएको छ।
तानसेन नगरपालिका-११ स्थित जिल्ला विकास समितिको स्वामित्वमा रहेको ३२ रोपनीमा फैलिएको ताललाई लिजमा लिएर तानसेनका व्यवसायीले माछा पालन गर्दै आएका थिए। पछिल्लो चारदिनमा एक लाख माछामध्ये आधाभन्दा बढी मरेका छन्। जिउँदै रहेका माछा पनि अचेत अवस्थामा छन्। मरेका ६० क्विन्टल माछा खाल्डो खनेर गाडिएको छ।
मत्स्य विकास केन्द्र भैरहवाका मत्स्य विकास अधिकृत अशोक कुमार श्रीवास्तवका अनुसार कलेजको ढल सोझौ तालमा मिसाइएको कारण पानीको गुणस्तर बिग्रेर माछाहरु मरेका हुन्।' उनले दुई दिन लगाएर तालको पानी परीक्षण गरिएको बताए।विभिन्न रसायनयुक्त ढल मिसिएपछि तालको पानीमा अक्सिजनको मात्रा घटेको उनले बताए। 'पानीमा अक्सिजनको मात्रा न्यून छ, पानी बिषाक्त भएकोले तालमा रहेका अन्य जलचरहरु भ्यागुता, सर्प, गंगटा, पानीचरा र अन्य जलचरलाई समेत विस्तारै असर पर्ने उनले बताए।
समाचार नगरीक न्यूज बाट
