वरिष्ठ पत्रकार चन्द्रलाल झाको निधन
काठमाडौं, साउन १२ - वरिष्ठ पत्रकार चन्द्रलाल झाको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहँदै आएका झा हिजो अस्पतालबाट डिस्चार्ज भएका थिए। आज बिहान ७ बजे आफ्नै निवासमा उनको निधन भएको पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झाले जानकारी दिए।
चन्द्रलाल झाको सम्पादनमा नेपाल टाइम्स साप्तिहिक प्रकाशन भएको थियो। यहि पत्रिकामा प्रजातन्त्रका लागि अडान लिने स्वभावले उनलाई पटक पटक जेलसम्म पुर्यायो। 'उहाँको निडर स्वभाव यतिसम्म थियो कि वीपीदेखि गणेशमान, किसुनजी र मनमोहन अधिकारी जस्ता नेताहरुसमेत उहाँलाई सम्मान गर्थे,' वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका प्रधान सम्पादक किशोर नेपालले भने, 'नेपाली पत्रकारिताका उनी ठूला हस्ती हुन्। निरंकुशताविरुद्ध उनी सधै निडर नै रहिरहे।' उनको किसुनजीसँग विशेष सम्वन्ध थियो। अविचलितरुपमा पत्रकारितामा अडिग रहेका झा अहिलेसम्मकै सबैभन्दा लामो समय प्रकाशित अंग्रेजी दैनिक कमनरमा पनि संलग्न थिए।
'नेपाली पत्रकारितामा एउटा युगको अन्त्य भयो,' नागरिकन्युजसँग पूर्व सभापति झाले भने, 'पेशागत हिसावमा उहाँ ज्यादै हक्की स्वभावको हुनुहुन्थ्यो। तर, वर्षौदेखि थलिँदै आउनुभएको थियो।' उनको पत्रिका पञ्चायतकालमा पटक पटक बन्द भएको थियो।
स्तम्भकार गोविन्द अधिकारीका अनुसार झा कहिल्यै पनि सम्झौता नगर्ने पत्रकार हुन्। 'उनको पुस्ता र पेसाका अद्वितीय व्यक्ति हुन् । नेपाली पत्रकारितामा उनी स्वयं एउटा स्कुल हुन्,' अधिकारीले भने। अधिकारीकाअनुसार उनको सम्पादनको नेपाल टाइम्सले के सम्पादकीय लेख्यो भन्ने कुरा पञ्चायतकालीन समयमा धेरै चासोको विषय हुन्थ्यो।
उनको शव अहिले बसन्तपुर नजिकैको घरमा राखिएको छ। उनका पत्नीगसहित तीन छोरा र दुई छोरी छन् ।
समाचार नागरिक न्यूज बाट