कृष्णभीर नजिकै बस दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु
तनहुँ, साउन १- कटारीबाट काठमाडौँ आउँदै गरेको रात्री बस सोमबार बिहान कृष्णभीर नजिकै दुर्घटना हुँदा कम्तिमा ९ जनाको मृत्यु भएको छ। तीब्र गतिमा आइरहेको बस बिहान करिब ५ बजेको समयमा पृथ्वी राजमार्गदेखि करिब २ सय मिटर तल त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
मर्ने मध्ये तीन जनाको मात्रै सनाखत भएको छ। सनाखत हुनेमा ग्रामीण विकास बैँक, गजुरीमा कार्यरत दीपकप्रसाद खनाल, नेपाली सेनाको आर्टिलरी तालिम केन्द्रका शिवबहादुर कार्की र उदयपुर ४ का खोपबहादुर धमला रहेका छन्।
ना २ ख ४९५१ नम्बरको यात्रुवाहक बस पृथ्वी राजमार्ग अर्न्तगत धादिङको धुसा २ कृष्णभीरबाट त्रिशुली नदी किनारमा खस्दा कम्तिमा ६ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।
दुर्घटनामा परी घाइते भएका १८ मध्ये १५ जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ भने ३ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ।
समाचार नागरिक न्यूज बाट
