साउदीमा दुर्घटनामा परेका नेपालीको उपचारमा १० लाख रियाल सकियो, बिरामी जस्ताको तस्तै
काठमाडौं, असार २२ - वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका चन्देश्वर मुखियाको उपचारमा दुई करोड ३० लाख रुपैयाँ (१० लाख रियाल) त्यहीको कम्पनीले खर्च गरेको छ । तर बिरामीको अवस्थामा सुधार देखिएको छैन ।
साउदीको दमामस्थित मौवासात अस्पतालको आईसीयुमै उपचाररत मुखिया बेहोस अवस्थामै छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई गत डिसेम्बर २८ मा भर्ना गरिएको थियो । 'उपचारमा दुई करोड ३० लाख रुपैयाँ खर्च भइसकेको छ,' गैरआवासीय नेपाली संघ, साउदीका अध्यक्ष धरम केसीले भने, 'तर अवस्थामा कुनै परिवर्तन भएको छैन ।'
उनी इमार अल हदिद कम्पनीमा कार्यरत थिए । उपचारमा हालसम्म लागेको सबै खर्च कम्पनी र बिमा कम्पनीले बेहोरेको केसीले जानकारी दिए । 'तर अब थप बेहोर्न नमिल्ने रोजगारदाता कम्पनी र बिमा कम्पनीले जानकारी दिएको छ,' उनले भने । उनी युनिक ओभरसिज म्यानपावरबाट गएका हुन् ।
गैरआवासीय नेपाली संघले रियादस्थित नेपाली दूतावासलाई 'पीडित बिरामीलाई थप उपचारमा सहयोग पुर्याउन' अनुरोध गरेको छ ।
समाचार कांतिपुर बाट