|

फेसबूकको रङ्गिन पाटाहरु

आजको मेडिएको दुनियाँमा जल्दोबल्दो हिसाबले अगाडि बढ्दै सफलताको सर्वोच्च शिखरमा बसेर सर्बाधिक लोकपृयता हासिल गरेको यहि फेसबूकले नै हो भन्दा दुई मत नहोला । यस चमत्कारी फेसबूकको आविष्कारक - मार्क जुगर्सलाई पूर्ण आदार-सम्मानका साथ मान्नै पर्दछ तपाईं-हामी जस्ता सम्पूर्ण प्रयोगकर्ताहरुले । मानिसहरुको तन-मन र ध्यानलाई चुम्बकिया आकर्षणको जादुले खिचेर अनि जितेर यो विशाल सञ्जालको जालोभित्र समेट्नु भनेको चानेचुने प्रतिभा र बिकास-प्रविधिको उपलब्धी भने पक्कै होइन यो, एउटा सफल
र विलक्षण प्रतिभा लिएर जन्मेका ति कर्मठ अनि भाग्यमानी युवा मार्कलाई ईश्वरिया वरदान नै प्राप्त भएको रहेछ भनेर सोच्दा हुन्छ ।

विज्ञानले ल्याएको यस्तो अलौकिक उपलब्धीलाई मानिसहरुले सदुपयोग र दुरुपायोग दुईटै तरिकाले प्रयोग गरेको पाइन्छ । यो सबै समायोजन वाप्रयोजन मानिसहरुको आ-आफ्नो भावना, विचार, दृष्टिकोण , गती र मतिमा भरपर्ने कुरा हो । फेसबूकको विशाल सञ्जालभित्र समेटिएर मित्रता र भातृत्तवको चित्र लहरिमा हराउँदै , रमाउँदा सबैलाई हर्ष र खुशीको आभाश हुनु स्वाभाविक कुरो हो र मानव बिकासको एउटा सबल पक्ष पनि हो । फेसबूक लगायत मेडियाको समुचित प्रयोगले मानिसको जीवन गतिमा निकै उतार चढाब ल्याइ प्रगतिमा कायलपलट पनि गराएको छ भने अर्को पाटो दुर्गाती र टाउको दुखाईको अमिलो-पिरोको धूलो पनि चटाएको पाइन्छ । यस सञ्जालले भूगोलका चारैतर्फका दूरीहरुलाई छोट्ट्याएर मानिसहरुलाई विशाल चौतारीमा जमघट गराई आपसी विचार, भावना , मर्म पीडा देखि लिएर हाँसो-खुशी बाँड्दै पिरतिको रमाइलो वातावरणमा जुट्ने सुनौलो अवसर सृजना गराइदिएको छ । बौद्धिक खुराकीहरु देखि लिएर मनोरञ्जनको चटनीहरु पनि पस्केर मानिसहरुलाई भुलाउने र डुलाउने विशाल चौतारी वा सञ्जाल बनेको छ आज यो फेसबूक । दुनियाँका कुना काप्चाका क्षण-क्षणका घटनहरु, समाचारहरु, आपसी सम्बन्धका तित-मिठा अनुभवहरु,सङ्गालोहरु अनि उद्धेलित मनका बहाबहरु आदान-प्रदान गर्ने सुनौलो मौका पनि दिएको छ यस फेसबूकले । मानिसहरुले आ-आफ्नो कर्म , अवस्था , मर्म बोकी बनाएको स्टाटस अनुसार चल्दै बल्दै र छल्दै जाँदा नजरबाट हराएका परिचित साथीहरु वा आफन्ताहरु खोज्ने र मिल्ने अवसर दिनुका साथै नयाँ नौला अपरिचित अनुहारहरुलाई मिल्दो-जुल्दो विचार अनि भावना अनुरुप मित्रताको लहरि मालामा उनिंदै परिचित हुने सङ्गमस्थल भएको छ यो फेसबूक । आपसी सम्बन्ध सुमधुर बनाउँदै आफ्ना वैचारिक , बौद्धिक तथा ज्ञानबर्द्धक खुराकीहरु साटासाट गर्दै, शेयर गर्दै तन मनका तरङ्गहरु यो चित्र लहरिमा फिंजाउने एउटा गतिलो र विचित्रको सन्देशबाहक मेडिया बनेको छ, फेसबूक आजकोरङ्गिन दुनियाँमा ।

यति हुँदा हुँदै पनि यसका सकरात्मक पक्षका मूल बाटोहरु चटक्क बिर्सेंर मानिसहरु नकरात्मक धारतिर लागिपरेकै भेटिन्छन । यसका यावत पक्षहरुलाई चिन्तन मनन गर्दै फेसबूकलाई मैले आफ्नै हिसाबले प्रयोग गरेको नै छु । तर पनि, यस सञ्जालमा घुम्दै-डुल्दै र फिर्दै जाँदा यहाँभित्र देखिएका रङ्गिन चित्रहरुमा भएका केही अमिला र धमिला पाटाहरुलाई नियालेर केलाउँदा यसो पनि भन्न मन लाग्दछ मलाई ।

(१) फेसबूक बन्दैछ ----- भेषबूक

सादा चित्र रङ्गिन बनाउने, सरल जीवन जटिल बनाउने, सत्य-तथ्य र यथार्थमा हिंड्ने-डुल्ने भन्दा आत्मरतिमा रमाउने होडबाजी नै चलेको हो कि जस्तो लाग्दैछ यो फेसबूक । चित्रै चित्रले भरिएको विचित्रको दुनियाँमा आएको यो फेसबूक कतै अतिरञ्जित बन्दै वास्तविक फेसबूकबाट हराएर भेषबूक त भन्ने होइन ? भन्ने कौतुहलता जाग्दो छ, यो सबै तपाईंहरुको स्वविवेकमा भरपर्ने कुरो हो ।

(२) फेसबूक बन्दैछ ----- चेसबूक

फेसबूकमा मानिसहरुले छद्म नाम र उपनाम धेरै राख्ने, आफ्नो वास्तविक नाम,चित्र र अनुहार सधैं लुकाउने, मुसो भई छिर्ने र व्वाँसो भई निचोर्ने,चिन्दै नचिनि र बुझ्दै नबुझी अनि स्टाटसलाई ख्यालै नगरीकन सुन्दरीहरुलाई साथी बनाउने र झूटो भ्रम जालमा फसाउने दुष्कार्यको गोटीहरु चाल्ने यो चेसबूकको कुनियत बनेको देखिन्छ । केहि समयको मित्रतबाट यदि यो चेसबूकको पर्दाफास हुन गई ब्लक्क नै गरिदिएपछि बल्ल यस्ता चेसबूकको हावा खुस्किन्छ, त्यसैले तपाईं-हामीले आज निकै सतर्कता र सावधानी अपनाएर अपरिचित अनुहारहरुलाई सच्चा फेसबूक हो कि झूटो चेसबूक हो भनेर पहिचान गर्नु नितान्त जरुरी देखिन्छ ।

( 3 ) फेसबूक बन्दैछ ----- गेसबूक

ठूला-साना सबै प्रकारका व्यक्तित्वहरु जमघट भएको विशाल सञ्जाल हो फेसबूक । आज फेसबूकको ओल्लो-पल्लो भित्ताहरु हेर्ने हो भने साहित्यिका सृजनशील लेख-रचनाहरु छरपष्ट भएका देख्न सकिन्छ । जस्तै - गजल, मुक्तक, कविता,केस्रा आदि सजिलै भेट्टाउन सकिन्छ । कसैका मौलिक सृजना र रचनाहरुलाई कपि र पेष्ट गर्दै चोरी-चकारी गर्ने कोहि-कोहि मनुवाहरु पनि भेटिन्छन् ।यस्ता चोरीकर्ताहरु भित्र-भित्र बौद्धिक जिरो भए पनि बाहिर हिरो बन्नुपर्ने ग्रसित रोगले सताएको छ । यस्ता कुत्सित कार्यमा पल्केकाहरुका लागि यो फेसबूक एउटा गेसबूक नै भएको सावित ठान्छन् । तर यो साहित्यिक चोरी कार्य निकै नै निन्दनिया हो र सबै मिलेर यसलाई निरुत्साही पार्दै गलत कार्य हटाउनु पर्दछ ।


( 4 ) फेसबूक बन्दैछ ----- केसबूक

कसै-कसैको लागि आज यो फेसबूक निकै टाउको दुखाई र झमेलाको विषय पनि भएको सुनिन्छ । कसैको व्यक्तिगत मामिलामा ठाडो हस्तक्षेप गर्दै चरित्र हत्या गर्नु ठूलो अपराध हो । फेसबूकमा अभद्र गाली-गलौज गर्ने, अश्लिल शब्दहरु प्रयोग गर्ने, अश्लिल भिडियो ट्याग अथवा पोष्ट गरिदिने, कसैप्रति रिस-राग र ईगो राखी झूटो आरोप वा लाञ्छना लगाई उसलाई बद्नाम गराउने आदि जस्ता कुचेष्टा र दुष्कार्यहरुको पनि अभिबृद्धी भएको पाइन्छ । यसप्रति तपाईं-हामी सबै साबधानी र सतर्कता अपनाउनुपर्ने देखिन्छ । साइबर अपराधीहरुको लागि देशमा निश्चित नियम कानुनी मापदण्डहरु ल्याउने र त्यसलाई सरकारले तदारुकताका साथ कार्यन्वयन गर्नुपर्ने देखिन्छ । साइबर अपराधहरु अनि गलत कार्यहरुलाई कानुनी परिसरमा ठड्याएर त्यसलाई उचित दण्ड-सजाय, कारबाही र जरिबाना गरेर स्वच्छ समाज र सँस्कारको बिकास गर्नुपर्ने नितान्त जरुरी देखिन्छ । त्यसो भएमा मात्र फेसबूक लगायत अन्य मेडिया सञ्जालहरुको उचित बिकास र प्रबर्द्धन हुने देखिन्छ । यस्ता अनाबश्यक झन्झट र नियतिको चङ्गुलमा फसेकहाँरुले भन्ने गरेको सुनिन्छ छ कि यो फेसबूक होइन, केसबूक हो भनेर चिन्दछन् । त्यसैले , कसैको लागि पनि साँचो अर्थमा व्यबहारिक हिसाबको फेसबूक होस् ,तर केसबूक भने कदापि नहोस् भन्ने चाहना चाहाना राख्दै चल्ने र खेल्ने गरौं ।

( 5 ) फेसबूक बन्दैछ ----- ठेसबूक

यो सञ्जालको चित्र लहरीमा सबै अटाउने र बस्न मिल्ने भएको हुनाले आ-आफ्ना चिर परिचित नातागोता, ईष्टमित्र, दाजुभाइ, दिदीबहिनी, साथीभाइ लगायत अपरिचितबाट परिचित बनेका अनुहारहरु समेत टाँसिएका हुन्छन् । तिनीहरुका आँखाहरु यतै कतै फेसबूकका रङ्गिन भित्ताहरुमा भुलेका र डुलेका हुन सक्छन्। तसर्थ, कसैको पनि वास्तविकता र अर्थ नबुझीकन चित्रहरु हुत्याउने र कृया-प्रतिकृयाहरु पोख्दा दायाँ-बायाँ आँच नपुर्‍याई वा कसैको मनमा ठेस नपुर्‍याई चल्दा नै पारखी पाइलामा अगाडि बढिएला भन्ने लाग्दछ । यदि त्यसो
गर्न सकिएन भने यो फेसबूक तपाईंको लागि ठेसबूक पनि बन्न सक्दछ ।

अन्तमा, विज्ञानले ल्याएको नयाँ र रमाइलो प्रविधिको सबैले सही सलामतले  सदुपयोग गर्दा हाम्रो जीवन र गती सुमधुर बन्ने थियो कि भन्ने मेरो राय र सन्देश हो । हुन त सबैको आ-आफ्नै किसिमको रमाउने-हाँस्ने, नाँच्ने र
खेल्ने तरिका अनि पारा होला, मेरो त देखेको र अनुभव गरेको वस्तुस्थितिलाई स्पष्ट तरिकाले ओकल्ने बानी छ, त्यसमा कुनै गार्‍यो पिरो नमान्नुहोला । एउटा कुरा, मैले के देख्छु भने, अधिकांश मित्रहरु,कुनै पनि साहित्यिक
लेख-रचनाहरु पढ्दै नपढीकन चित्रको आधारमा, अथवा त्यसको भित्री चुरो र यथार्थ भाव बुझ्दै नबुझी लाइक ठोक्नुहुन्छ, कमसेकम एक चोटि पढेर त्यसको मर्म र भाव बुझेर लाइक तथा उचित कमेन्ट राख्दा सर्वोत्तम हुने थियो ।लाइक बाट आफ्नो मात्र छायाँ र मायाँ बुझ्न सकिन्छ, यदि प्रतिकृया आएको खान्डमा बल्ल सम्बन्धित व्यक्तिको मर्म , विचार अनि सदिच्छा आदि कुराहरुमा छर्लङ्ग हुन सकिन्छ । लाइक मात्र गर्नाले त्यसमा साथीहरुको महत्वपूर्ण सोच, विचार र भावना बुझ्न सकिंदैन र त्यस्तो रोजाइले खासै महत्व र स्थान लिन पनि सक्दैन । बरु छोटो नै किन नहोस्, प्रतिकृया आएमा त्यो नै ठूलो कुरो हुन जानेछ । लाइक तथा प्रतिकृया पोख्दा पनि तपाईं+हामीले आफ्नो स्वविवेकमा ध्यान दिंदा अति उत्तम हुनेछ ।

हस्त ! साथीहरु, कसैले पनि चित्त नदुखाउनुहोला भन्ने मेरो विनम्र अनुरोध छ । मैले देखेका र भोगेका तिता मिठा सङ्गालोहरु जस्ताको तस्तै पस्केको छु मैले । फेसबूकको यो विशाल सञ्जालभित्र बसेर आ-आफ्नै तरिकाले जम्दै रमाउनुहोस् , किनकी तपाईं+हामी हिंडेको यो धर्ती र ऊँडेको आकाश सबैको साझा चौतारी
हो , तर जीवन र गती भने आफ्नै हो भनेर सोच्नुहोला , यो जीवन सबैको लागि उत्तिकै महत्वपूर्ण अनि अमूल्या छ भनेर पनि सोच्नुहोला , आफ्नो कर्म धर्म अनुसार सोच विचार गर्दै चल्नुहोला ।

सर्वे भवन्तु सुखिन:
सर्वे सन्तु निरामय:


रुपलाल बिश्वकर्मा
साहित्यिक नाम
रुप अनुरागी
दमौली, तनहुँ
हाल - दुबई ( यूएई )

Posted by Butwalonline on 6:51 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फेसबूकको रङ्गिन पाटाहरु"

Leave a reply