|

चितवनमा कुखुराको सुलीबाट बिजुली निकालियो

चितवन,असार ६-पूर्वी चितवनको चैनपुर गाविस ज्यामिरेमा प्राविधिकहरु कुखुराको सुलीको प्रयोगबाट बिजुली निकाल्न सफल भएका छन् । एशोधा दिगो विकास प्रालि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा नेपालमा पहिलोपल्ट विद्युत् निकाल्न सफल भएको हो । स्थानीय अन्नपूर्ण पोल्ट्री र्फममा आज सुलीबाट विद्युत् निकाल्ने प्रयोगको सफल परीक्षण गरिएको हो । जाइका रोआन्डाका बायोग्यास प्रशिक्षक रविभानु क्षेत्रीले सुलीबाट बायो ग्यास बनाई ग्यासको माध्यमबाट जेनेरेटर चलाएर सफल परीक्षण गर्नुभएको हो । सो प्रविधिको सफल परीक्षणका लागि हिमाल ऊर्जा विकास कार्यक्रम चितवनले प्राविधिक सहयोग गरेको सञ्चालक देवनारायण श्रेष्ठले बताउनुभयो ।

 चार वर्षदेखिको योजनाअनुसार फिल्डमा खटिएको सात दिनमा सो प्रविधि सफल भएको एशोधा दिगो विकास कार्यक्रमका बायो ग्यास अनुसन्धानकर्ता जीवन श्रेष्ठले बताउनुभयो । सो परीक्षण नेपालमै पहिलो भएकाले बढ्दो लोडसेडिङबाट पीडित बनेका उपभोक्ताका लागि सजिलो हुने उहाँले बताउनुभयो । खेर गएको सुलीबाट गरिएको परीक्षणले ५३ प्रतिशत इन्धन बचत गर्न सकिने विज्ञ क्षेत्रीले बताउनुभयो ।

 पहिलो चरणमा उपकरणको अभावमा ७० प्रतिशत सुलीबाट निकालिएको बायो ग्यास र ३० प्रतिशत डिजल मिसाएर परीक्षण गरिएको हो । अब केही हप्तामा नै पूर्ण बायो ग्यासबाटै विद्युत् निकालिने विज्ञले बताएका छन् । अन्नपूर्ण पोल्ट्री र्फमले सातवर्षअघि नै सुलीको ग्यासबाट खाना पकाउने काम गरे पनि विद्युत् नै निकालिएको पहिलो हो । नयाँनयाँ प्रविधि भित्रयाउन मन पराउने र्फमका सञ्चालक अर्जुन अर्यालले यसरी विद्युत् सञ्चालन हुन सके विद्युत्को अभाव भएको नेपालमा सहयोग मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो-इन्धन पनि खपत हुने भएकाले व्यापारका लागि समेत मुनाफा आर्जन गर्न सकिन्छ । यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले रु दुई लाख सहयोग गरेको छ । रासस
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चितवनमा कुखुराको सुलीबाट बिजुली निकालियो"

Leave a reply