सिकार खेल्ने क्रममा गोली लागेर एक युवक गम्भीर घाइते
पोखरा, जेठ २०- कास्कीको भरतपोखरीमा कालिजको सिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट निस्केको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्। पेटमा गोली लागेका २० वर्षीय सरोज आचार्यको पोखरास्थित चरक अस्पतालको आकश्मिक कक्षमा उपचार भइरहेको छ।
पेटमा गोली लागेका उनको ढाडबाट निस्किएर अधिक रक्तश्राव भएको चिकित्सकले जनाएका छन्। अहिले उनको रक्तश्राव नियन्त्रण गरी चोट लागेको भागको शल्यक्रिया भइरहेको छ। छिमेकी दाजुभाइ र साथी मिलेर शनिबार अपराह्न ४ बजेतिर कालिजको शिकार खेल्न जाने क्रममा उकालो बाटो हिँडिरहेका बेला बन्दुक बोकेका साथी लडेपछि उक्त घटना भएको हो।
सरोजसँगै अशोक आचार्य, आशिष पौडेल, सुजित पौडेल र सुवाश लामिछाने स्थानीय तोरीचौरमा सिकार खेल्न गएका थिए। घाइते साथीलाई गाउँकै बोर्डिङ स्कुलको बसमा राखेर उनीहरुले पोखरास्थित चरक अस्पताल ल्याएका थिए। प्रहरीले अस्पतालबाट चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पुर्याएको छ। अस्पतालका अनुसार घाइतेको पेटबाट एउटा प्वाल भएर पसेको गोली ढाडबाट निस्कँदा दुईवटा प्वाल बनेको छ। अस्पताल ल्याउनुअघि अधिक रक्तश्राव भएकाले उनलाई तत्काल रगत दिनुपर्ने भएको छ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र पौडेलले घाइतेको पेटको अप्रेसन गर्नु परेकाले उनको अवस्थाबारे अहिले भन्न नसकिने बताए। उनले नियन्त्रणमा लिइएका चार जनासँग घटनाबारे अनुसन्धान थाल्ने बताए।
समाचार नागरिक न्यूज बाट
