|

सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या

काठमाडौं - सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको छ। शंखमुलस्थित युएन पार्क नजिकै मोटरसाइकलमा आएका दुई जनाले उनीमाथि गोली प्रहार गरेका हुन्। 
घटनामा प्रयोग भएको शंकामा प्रहरीले कोटेश्वर सहयोगीनगरबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।  

बमको शरीरमा ६ गोली लागेको थियो। बमका अङ्गरक्षक असई महेश गिरी र उनीहरुसँगै रहेका राम गिरीलाई पनि गोली लागेको छ। तीनैजनालाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। उपचारका क्रममा बमको निधन भएको हो।
बिहीबार बिहान ११:१५ बजे बा ८ च ९८५३ नम्बरको सेतो सरकारी गाडीमा रहेका बममाथि कालो पल्सरमा आएका दुई जनाले गोली हानेका थिए। दुबैले अनुहार छोपिने गरी मास्क लगाएका थिए। सिसा लगाएको गाडीभित्र रहेका बममाथि सिसाबाहिरैबाट गोली दागिएको थियो।

घटनास्थलमा महानगरीय प्रहरी आयुक्तका प्रवक्ता एसएसपी रविराज थापाले अनुसन्धान अगाडि बढाइसकिएको जानकारी दिए। गोली हानिएको स्थानमा नेपालवाद पार्टीको नामको पर्चा फेला परेको छ। पर्चामा भ्रष्टाचारमा संलग्न भएकाहरुमाथि भौतिक कारबाही गर्ने लगायतकाका विवरणहरु समावेश छन्। तर, प्रहरीले हत्यालाई राजनीतिक आवरण दिन खोजिएको बताएको छ। प्रहरीका अनुसार घटना राजनीतिक नभई पूर्णरुपमा आपराधिक हो। 

घटना लगत्तै प्रहरीले राजधानीका सबैजसो क्षेत्रमा पल्सर मोटरसाइकल चढ्नेहरुको निगरानी बढाएको थियो। घटनास्थल नजिकका स्थानमा पल्सर चढ्ने सर्वसाधारणको मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

बममाथि गोली प्रहार भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न प्रधान मन्त्री बाबुराम भट्टराई नर्भिक पुगेका थिए। भट्टराईले दोषीलाई तत्काल नियन्त्रणमा लिई कारबाही गर्न गृह मन्त्री तथा गृह सचिवलाई निर्देशनसमेत दिएका छन्।

घटनाको छानबिन गर्न प्रहरीले एआइजी कुबेरसिंह रानाको संयोजकत्वमा समिति गठन गरेको छ। 
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 4:37 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सर्वोच्चका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या"

Leave a reply