शुल्क वृद्धि घटाउन माग गर्दै चार विद्यार्थी संघर्ष समितिद्वारा आन्दोलन
चितवन वैशाख २२- बढेको शुल्क नघटाएको भन्दै विद्यार्थी संगठनले निजी स्कुल तोडफोड गरेका छन्। शिक्षकको तलब बढाउन स्कुलहरूले वैशाखदेखि शुल्क बढाउने निर्णय गरेका थिए। शुल्क वृद्धि घटाउन माग गर्दै चितवनका चार विद्यार्थी संगठन सम्मिलित संयुक्त विद्यार्थी संघर्ष समितिले आन्दोलन गरिरहेको छ। साताअघि विद्यार्थी संगठनले निजी स्कुलको प्रशासनमा तालाबन्दी गरेका थिए। विद्यार्थीहरूले बिहीबार भरतपुरस्थित सिद्धार्थ शिक्षा सदन, अरोमा आवासीय मावि र मृगस्थली शिक्षा निकेतन तोडफोड गरे।
उनीहरूले विद्यालय प्रशासनको कम्प्युटर, प्रिन्टर, दराज लगायत सामग्री तोडफोड गरे। तोडफोडबाट साढे दुई लाखभन्दा बढी क्षति भएको विद्यालयहरूले जनाएका छन्। बिहीबार संयुक्तरूपमा जिल्लाका निजी स्कुलको अनुगमनमा हिँडेका विद्यार्थीहरू शुल्क बढाएको थाहा पाएपछि तोडफोडमा उत्रिएका थिए। छलफल र वार्ताबाट समस्या समाधान गर्नुसट्टा विद्यार्थीहरू तोडफोडमा उत्रिएको विद्यालय प्रशासनको आरोप छ। 'स्कुलले विद्यार्थीसँग महँगो शुल्क असुलेको थाहा पाएपछि तोडफोड गर्नुपर्यो,' नेवि संघ चितवनका सचिव परमेश्वर खनालले भने, 'चेतावनी दिँदा दिँदै निजी स्कुलले अटेर गरे।'
आफ्ना माग सुनुवाइ नभए अझै कडा आन्दोलन गर्ने अखिल क्रान्तिकारी चितवनका अध्यक्ष रुद्र भट्टराईले बताए। अखिल क्रान्तिकारी, नेवि संघ, अखिल छैटौं र अनेरास्ववियुले आन्दोलन गरिरहेका छन्। मृगस्थली शिक्षा निकेतनका प्राचार्य रमेश घिमिरेले कुनै जानकारी नदिई विद्यार्थीले एक्कासि तोडफोड गरेको बताए। तोडफोडबाट आफ्नो विद्यालयमा करिब ६० हजार बराबर क्षति भएको उनले दाबी गरे। सिद्धार्थ स्कुलका तीनवटा कम्प्युटर, प्रिन्टर, फ्याक्स मेसिन, टेबल, दराजमा नोक्सान पुग्दा करिब डेढ लाख बराबर क्षति भएको एकेडेमिक निर्देशक टीका चापागाईंले बताए। अरोमा स्कुलमा पनि एक्कासि विद्यार्थीहरूले प्रशासन कोठा तोडफोड गरेको आरोप छ।
यस शैक्षिक सत्रमा स्कुलले मनपरी ढंगले २३ प्रतिशतसम्म शुल्क बढाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सनले समेत आफ्ना सुनुवाइ नगरेको विद्यार्थीहरूको भनाइ छ।
यस शैक्षिक सत्रमा स्कुलले मनपरी ढंगले २३ प्रतिशतसम्म शुल्क बढाएको भन्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सनले समेत आफ्ना सुनुवाइ नगरेको विद्यार्थीहरूको भनाइ छ।
प्याब्सन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले विद्यालयको आयस्ताले मात्र शिक्षकको तलब बढाउन नसक्ने अवस्था आएपछि शुल्क बढाएर बाध्य हुनुपरेको बताए। 'सहमति अनुसारै शुल्क बढाइएको हो,' उनले भने, 'सहमति प्रयास गर्दागर्दै विद्यार्थी तोडफोडमा उत्रिनु गलत हो।'
शिक्षक तलबमा ४५ प्रतिशतसम्म वृद्धि गरिएकाले २३ प्रतिशतसम्म शुल्क बढाउनु जायज रहेको गुरुङको भनाइ छ। जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले तोडफोडबारे प्रहरी प्रशासनलाई जानकारी गराएको बताए। 'स्कुलमा सुरक्षा दिन प्रहरीलाई भनेको छु,' उनले भने, ' समस्या समाधानबारे पहल भइरहेको छ।' यसअघि नै तालाबन्दी भए पनि समाधानका पहल गर्न कुनै जानकारी नआएको उनले बताए। 'विद्यालयको अनुगमन गरेर अधिकतम २२.८ प्रतिशतसम्म शुल्क बढाउन सकिने भनिएको हो शर्माले भने तर अनुगमन नै नभई बढेको भन्दै घटना भएको बुझेको छु।' विद्यालयको नयाँ शैक्षिकसत्र सुरु भैसक्दा पनि जिल्ला शिक्षा कार्यालय र प्याब्सनको लापरबाहीका कारण आफ्ना बालबालिकाको भविष्य खतरामा परेको अभिभावकहरुले बताए। 'पढ्नलाई स्कुल पठाउने हो एक अभिभावकले भने विद्यालयमै तोडफोड हुन्छ भने कसरी हाम्रा बालबच्चा सुरक्षित भएर पढ्ने?'
समाचार नागरिक न्यूज बाट