भट्टराई सरकार विघटन की पुर्नगठन भन्नेमा बिवाद
काठमाडौं, वैशाख २१ - बाबुराम भट्टराई नेतृत्वको सरकार विघटन गरी प्रमुख दल र मधेसी मोर्चासम्मिलित सरकार बनाउने शीर्ष सहमतिमा दलहरुले आ-आफ्नो व्याख्या गरेका छन् ।
सरकारमा नरहेका कांग्रेस-एमाले र सत्ताधारी माओवादी र मधेसी मोर्चाले आ-आफ्नै व्याख्या गरेपछि विवाद
बल्झिएको छ । बिहीबार दिउँसो नै बुधबारको मौखिक सहमतिलाई लिखित रुप दिने भनिए पनि अझै शीर्ष बैठक बस्न सकेको छैन ।
मन्त्रिपरिषद्को बैठकमा मधेसी मोर्चाका मन्त्रीहरुले आपत्ति जनाएपछि प्रधानमन्त्रीले सरकार विघटन नभई पुर्नगठन नै गर्न लागेको जानकारी गराएका थिए । उनीहरुले मन्त्रिपरिषद् विघटन नगर्नसमेत प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । विपक्षीको बुझाई भने मन्त्रिपरिषद् विघटन गरी भट्टराईकै नेतृत्वमा सहमतिको सरकार बनाउने भन्ने छ ।
मधेसी दलको चेतावनीपछि मन्त्रिपरिषद् विघटन ढिला भएकोमा कांग्रेस-एमाले क्रुद्ध छन् । ब्याख्या फरक भएपछि नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ भने माओवादी र कांग्रेसको अनौपचारिक बैठक पनि चलिरहेको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद्मात्रै विघटन गर्ने निर्णयको कांग्रेस र एमालेका सभासद्हरुले पनि आपत्ति जनाएका छन् । उनीहरुले नयाँ मन्त्रिपरिषद् गठन गर्ने भए भट्टराईलाई राजीनामा नै गराउन दबाब दिएका छन् ।
समाचार कांतिपुर दैनिक बाट