|

माओवादीले शान्तिका लागि एक जना ब्रिगेडियरको अडान त्याग्यो


रोल्पा, चैत्र २४ - माओवादी लडाकु कमाण्डर नन्दकिशोर पुनले शान्ति प्रक्रियालाई सजिलो बनाउनका लागि पहिले दाबी गरिएको दुई जना ब्रिगेडियर जनरलमध्ये एकलाई छोडिएको जनाएका छन् । शान्ति प्रक्रिया र सेना समायोजनलाई छिट्टै टुङ्ग्याउन विकल्प खोजिएको उनले खुलासा गरे ।
तर सेना समायोजन गर्दा आफू अनुकूल नभएमा अहिलेको सेना समयोजन प्रक्रियाप्रति विश्वास गर्न नसकिने उनले चेतावनी दिए । दलहरुले यस विषयलाई सम्वेदनशील रुपमा नबुझेको आरोप लगाउँदै माओवादीले अघि सारेको धारणालाई लत्याए परिणाम राम्रो नहुने पनि उनले औंल्याए ।
यसअघि लडाकुका तर्फबाट दाबी गरिएको दुई ब्रिगेडियर जनरल र एक मेजर जनरलमध्ये दलहरुको आपत्ति सार्वजनिक भएपछि उनले लडाकुलाई माथिल्लो पद ब्रिगेडियर जनरल दिनु पर्ने धारणा व्यक्त गरेका हुन् । शुक्रबार रोल्पामा आयोजित जनआन्दोलन दिवस कार्यक्रममा बोल्दै माओवादी स्थायी समिति सदस्य समेत रहेका लडाकु कमाण्डर पाशाङले समयमा संविधान निर्माण गर्न पनि पार्टी लागिपरेको बताए ।
लडाकुले गरेको त्याग र बलिदानीलाई सजिलो तरिकाले बुझेर नहोच्याउन पनि उनले चेतावनी दिए । दलहरूले शान्ति प्रक्रियालाई सेना समायोजनको विषयसँग जोडेर अनावश्यक बखेडा झिकेको बताउँदै पासाङले शान्ति र संविधानका निम्ति खबरदारी गर्न सर्वसाधरणलाई आग्रह गरे । आफूहरु सम्मानजनक सेना समायोजनको पर्खाइमा भएको भन्दै उनले रोल्पाबाट सुरु भएको शान्ति प्रक्रियालाई सही दिशामा पुर्‍याउन पहल गर्न सबै दलहरूलाई आग्रह पनि गरे । शान्ति सम्झौतापछि चार वर्षपछि आफ्नो गृह जिल्ला रोल्पा आएका पाशाङले लडाइभन्दा शान्तिको विषयलाई प्राथमिकता दिनु अहिलेको माग भएको स्मरण गरे ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य दीपेन्द्र पुन सिजलले मुलुकमा परिवर्तन गर्न अहिलेको सेना समायोजनलाई सही दिसामा लैजान हिम्मत गर्न पार्टी नेतृत्वलाई आग्रह गरे । पार्टीमा दुई ध्रुवीकरण देखिएको हल्ला मात्र भएको बताउँदै उनले मूलधार पार्टी लाइनले शान्ति र संविधानप्रति प्रतिबद्धता जनाएकाले त्यसैको जित हुने विश्वास गरे ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 7:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीले शान्तिका लागि एक जना ब्रिगेडियरको अडान त्याग्यो"

Leave a reply