|

बस दुर्घटना हुँदा २० यात्रु घाइते

सिन्धुपाल्चोक, वैशाख १०- बस दुर्घटना हुँदा आमाको मुख हेरेर फर्कंदै गरेका २० यात्रु घाइते भएका छन्। मानेश्वाँराको एक्लेबेसीमा भएको उक्त दुर्घटनामा दुई जनाको अवस्था भने चिन्ताजनक छ। घाइतेमध्ये घुम्थाङ–४ की ८१ वर्षीया गङ्गा श्रेष्ठ र पेड्कु–४ की ३० वर्षीया पवित्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


घुम्थाङबाट काठमाडौं आउँदै गरेको वा २ ख ५१५६ नम्बरको बस आइतबार बिहान १० बजेतिर दुर्घटना भएको हो।

प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा उपचार हुन नसकेपछि उनीहरुलाई काभ्रेको धुलिखेल अस्पताल रिफर गरिएको छ। अन्य घाइतेको बाह्रविसे र सदावहार सामुदायिक अस्पताल खाडीचौरमा उपचार भएको छ। सामान्य अवस्थाका अधिकांश घाइते उपचारपछि घर फर्केका छन्।

खचाखच यात्रु बोकेको बस कच्ची सडकमा अनियन्त्रित भई दाहिनेपट्टि आधा ढल्केको थियो। अधिकांश यात्रु छतबाट हाम फाल्दा घाइते भएको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बालाजी रायमाझीले बताए। उनका अनुसार महिलाले भरिएको उक्त बसमा औंसी मनाएर घर फर्कंदै गरेका चेली थिए। 
स्रोत :नागरिक न्यूज 

Posted by Butwalonline on 4:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बस दुर्घटना हुँदा २० यात्रु घाइते"

Leave a reply