|

चन्दा नदिएको निहुँमा ५० वर्षीया महिलाको गोली हानी हत्या

दिनेश गौतम, चौफेरी (बाँके), माघ १७ - एक लाख रुपैयाँ चन्दा नदिएको निहुँमा भूमिगत जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) का कार्यकर्ताले ५० वर्षीया महिलाको गोली हानी हत्या गरेका छन्। बाँकेको विकट गाविस होलिया- २, चौफेरीमा बहादुर यादवलाई खोज्दै आएका दुई हतियारधारी व्यक्तिले उनलाई नभेटेपछि पत्नी नन्दी अहिर यादव) लाई गोली हानी हत्या गरेका हुन्।

उनीहरूले परिवारलाई धम्की दिएर गएपछि प्रहरीले चौबिसै घन्टा सुरक्षा दिइरहेको छ। गत माघ ४ गते सोमबार साँझ साढे पाँच बजे यो घटना भएको हो। प्रहरी चौकी खडैंचाबाट हवल्दार कर्णबहादुर चन्दसहित पाँचजना प्रहरी सुरक्षामा खटिएका छन्। प्रहरी टोली दुई/दुई दिनमा फेरबदल हुने गरेको उल्लेख गर्दै हवल्दार चन्दले जानकारी दिए।जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह) को नामबाट पुस १९ गते १ लाख चन्दा माग गर्दै धम्की आएको थियो। जेठा छोरा रामछविले भने 'जोसुकै भए पनि चन्दा नदिने' अडान लिए। तर, केही अज्ञान व्यक्ति आएर छोराको छातीमा बन्दुक तेर्साएपछि बहादुरले खुट्टामा लम्पसार परेर रुँदै चन्दा दिन स्वीकार गरे। ज्वाला सिंहका कार्यकर्ता बताउने ती अज्ञात व्यक्तिले उनलाई भारतको शुकबजारमा एक लाख लिएर आउन निर्देशन दिए। उनी चन्दा बुझाउन तोकेकै ठाउँमा बसेका थिए। चन्दा लिन मोटरसाइकलमा आएका तीन व्यक्तिलाई देखेपछि भारतीय सुरक्षाकर्मीले रोके। मोटरसाइकल पछाडि बसेका दुईजना भागे। चालकलाई भारतीय सीमासुरक्षा बल (एसएसबी) ले पक्राउ गर्‍यो।यो घटनापछि ज्वाला सिंह समूहका कार्यकर्ताले घरै आएर बहादुर यादवलाई खोजेका थिए। नभेटेपछि श्रीमतीलाई गोली हानेका थिए। चन्दा नदिए अरूको पनि हत्या गर्ने धम्की दिएर गएको परिवारले बताएको छ।घटनालगत्तै बाँकेका प्रहरी प्रमुख विक्रमसिंह थापाको सक्रियतामा शव उठाएर दाहसंस्कार गरेको बहादुरले बताए।'प्रहरीले घरमै आएर सुरक्षा दिएपछि काजक्रिया गर्न पाइयो,' उनले भने, ‘गाउँमै सुरक्षा चौकी भए धेरै सजिलो हुन्थ्यो।'
                                                                                                                                              स्रोत :नागरिक 

Posted by Butwalonline on 8:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चन्दा नदिएको निहुँमा ५० वर्षीया महिलाको गोली हानी हत्या"

Leave a reply