तीन हजार मधेसीलाई सेनामा प्रवेश गराउने निर्णय लोलिपप : यादव
मधेसमा भिषण आन्दोलनको चेतावनी-उपेन्द्र यादव
काठमाडौ, ६ पुष । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेनामा तीन हजार मधेसीलाई प्रवेश गराउने सरकारको निर्णय मधेसीलाई लोलिपप खुवाएर मधेसका मुद्दालाई ओझेलमा पार्ने षडयन्त्र भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा यादवले नेपाली सेनालाई जनसंख्याको आधारमा समूहगत रुपमा मधेसीलाई प्रवेश गराई समावेशी बनाउनु पर्ने माग गरे । उनले भने– पूर्व सहमति अनुसार नभएकोले अब मधेसमा भिषण आन्दोलन छिट्टै हुन्छ ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले विगतमा १० हजार मधेसीलाई सेनामा समूहगत प्रवेश गराउने सहमति भए पनि सत्ता टिकाउन लागेको मधेसी मोर्चाले ३ हजारमा झारेको आरोप लगाउादै कार्यान्वयन तहमा जादा सम्म ३ सयको प्रवेश पनि नहुने आशंका ब्यक्त गरे ।
अध्यक्ष यादवले मधेसीको सेनामा प्रवेश अघि नेपाली सेनाको एकांकि संरचनाको अन्त्य, राष्ट्रिय सुरक्षा नीति निर्माण, सेनाको आवश्यकता, औचित्य, संख्या निर्धारण र सेनामा नागरिक सर्वोच्चता स्थापना गर्नु पर्ने तर्क गरे । उनले समस्याको दिर्घकालिन भन्दा पनि अल्पकालिन समस्या समाधानको प्रयासमात्रै भएको दावी गरे । उनले भने–ठोस नीति गरेर नेपाली सेनालाई राष्ट्रिय स्वरुप नदिई प्रवेश गराउनुको कुनै औचित्य छैन ।
चार बुदे सहमति विगतमा भएका ८ र २२ बुदे सहमतिको नक्कल भएको भन्दै स्वायत्त मधेस प्रदेश कायम नभए र मधेसले अधिकार नपाए मधेसमा फेरि भिषण आन्दोलन हुने चेतावनी दिए ।
उनले बर्तमान सरकार झिनो बहुमतको सरकार भएकोले यसले मुलुकको जटिल समस्या समाधान गर्न नसक्ने भन्दै राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिए ।