|

सार्क यु-२५ ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले आखिर भारतलाई हराएर छोड्यो

काठमाडौं, कात्तिक १७ - नेपालले माल्दिभ्समा भइरहेका सार्क यु-२५ ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा भारतीय टोली कर्णाटक इन्स्टिच्युट अफ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको छ। सार्कका अन्य राष्ट्रले राष्ट्रको प्रतिनिधित्व गर्ने टोली पठाए पनि भारतले प्रान्तीय टोली पठाएको थियो।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले नेतृत्वदायी इनिङ खेलेपछि नेपालले अविस्मरणीय विजय हात पारेको हो। टस जितेर पहिला ब्याटिङ गरेको भारतीय टोलीले ४ विकेट गुमाई २ सय १८ रन बनाएकोमा पारस र ज्ञानेन्द्रले अविजित अर्धसतक बनाएपछि नेपालले अन्तिम बलमा विजय हात पार्‍यो। पारसले अन्तिम बलमा छक्का प्रहार गरेपछि नेपालले २२२-४ मा खेलको अन्त गर्‍यो।

पारस ३५ बलमा २ चौका र ६ छक्कासहित ६३ रनमा अविजित रहे। बलिङमा तीन विकेट पनि लिएकाले उनी म्यान अफ द म्याचमा चुनिए। ज्ञानेन्द्रले २१ बलमा एक चौका र ९ छक्कासहित ६७ रन बनाए। प्रतियोगितामा पहिलो खेल खेलेका अनिल मण्डल ३१ रनमा आउट भए। भारतका राहुल राजभाल्टले अविजित ९९ र कप्तान निखिलले अविजित ४४ रन बनाए। नेपालले शनिबार पाकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने छ। विजय हात पारेमा नेपाल सेमिफाइनल पुग्ने छ।

नेपाल पहिलो खेलमा श्रीलंकासँग ७६ रनले पराजित भएको थियो। श्रीलंकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४० रन बनाउदा नेपालले ९ विकेट गुमाई १ सय ६४ रनमात्र बनाउन सकेको थियो। भारतीय टोली पनि पहिलो खेलमा बुधबार पाकिस्तानसँग १ सय ४९ रनले पराजित भएको थियो। पहिला ब्याटिङ गरेको पाकिस्तानले ९ विकेट गुमाई २ सय ४७ रन बनाउदा भारत १८.३ ओभरमा १ सय २५ रनमा सिमित भयो।

अघिल्लो दिन नेपालका प्रशिक्षक पुबुदु दासानायकेले माल्दिभ्स छाडनु अघि कम्तिमा एक विजय हात पार्ने लक्ष्य रहेको बताउदै भनेका थिए। 'हामीले एउटा योजना बनाएका छौं, हामी भोली त्यही अनुसार खेल्ने छौं। श्रीलंकासँगको हारपछि हामीले आफ्नो कमजोर र शक्तिको विश्लेषण गर्‍यौं। हामी त्यो गल्ती सुधार गरेर आफ्नो क्षमता अनुसार खेल्न प्रयास गर्नेछौं। भारतीय टोलीसँग हामीले आफ्नो बलिङमा सुधार गर्नुपर्छ। श्रीलंकासँगको केही ओभर हाम्रो निकै खराब थियो।'

पारस खड्काको एक ओभरमा श्रीलंकाली खेलाडीले ६ छक्कासहित ३७ रन जोडेका थिए। अमृत भट्टराईको एक ओभरमा श्रीलंकाले २५ रन बनाएका थिए भने राहुल विकको पहिलो ओभरमा २१ रन खर्चेपछि उनी फेरी बलिङमा आएनन्।

भारतीय टोलीसँगको खेलमा नेपालले त्यो गल्ती दोहर्‍याउन नहुँने पारसले बताएका थिए। 'मैदान सानो भएकाले बलरलाई धेरै रन नखर्चनु पर्ने दबाव थियो। अहिले हामी यहाँको वातावरणमा राम्रोसँग घुमिल भएका छौं, श्रीलंकासँगको खेल हाम्रा लागि सिक्ने राम्रो अबसर बन्यो। अब हामी राम्रो खेलका लागि तयार छौं।'

                                                                                                                                 स्रोत :नागरिक न्यूज

Posted by Butwalonline on 1:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सार्क यु-२५ ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले आखिर भारतलाई हराएर छोड्यो"

Leave a reply