|

माओवादीले कब्जा गरेका घरजग्गा फिर्ताको थालनी

गुलरिया, मंसिर १० - माओवादीले कब्जा गरेका घरजग्गा फिर्ताको थालनी शुक्रबार बर्दियाबाट सुरु भएको छ । मौखिक सर्तसहित माओवादीले ११ वर्षअघि कब्जामा लिइएको राजापुर-७ प्रयागपुरका विनोदध्वज चन्दको घरजग्गा फिर्ताको घोषणा गरेका हुन् ।

तर माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर जिल्ला नेताहरूले 'संस्थापन पक्षले झुक्याएर घोषणा गरेको' भन्दै फेरि कब्जामा लिने बताएका छन् ।

जिल्लामा गठित तीन दलको घरजग्गा सम्पत्ति फिर्तासम्बन्धी कार्यदल, सहजीकरणका टोली र प्रशासनको रोहवरमा फिर्ता घोषणा भएको हो । टोली प्रयागपुरमै पुगेको थियो । उनीहरूको रोहबरमा जोताहा किसानले जग्गा फिर्ता गरेको घोषणा गरेका थिए । द्वन्द्वकालदेखि नै चन्दको करिब ४३ बिघा जग्गा माओवादी कब्जामा थियो ।

जोतभोग गर्दै आएका जोताहा किसान ठाकुरप्रसाद थारू, जागुराम थारू, आगुलाल थारूसहित १० जनाले माओवादीका जिल्ला इन्चार्जलगायत अन्य दलका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक रूपमा फुकुवाको घोषणा गरेका हुन् ।

फिर्ता जग्गा अधियाँ वा ठेक्कामा लगाउनुपरेमा जोताहा किसानलाई दिने सर्त मौखिक रूपमा राखिएको छ । अर्को व्यवस्था नभएसम्म जोतिरहेका किसानलाई छुटाउन नपाउने र जग्गा बेच्न नपाउने, खाँचो परेको खण्डमा बिक्री गर्दा पनि जोताहाकै सहमति लिनुपर्ने सर्त पनि राखिएको जग्गाधनी चन्दले बताए ।

राजापुर गाविसका पूर्वअध्यक्षसमेत रहेका चन्दको पाँच जना पारिवारिक सदस्यका नाममा रहेको ४३ बिघा जग्गा २८ जना जोताहा किसानले जोत्दै आएका थिए । विस्थापित भई काठमाडांै विशालनगर बस्दै आएका चन्द परिवारका पुराना

किसान ६ जना र अन्य दौलतपुरबाट आएका माओवादी कार्यकर्ताले खेत कब्जा गरी जोतभोग गर्दै आएका हुन् ।

घरजग्गा फिर्ता कार्यक्रममा चन्दले माओवादीसँग प्रश्न गरे, 'मेरो घरजग्गा किन कब्जा गरिएको थियो ? म सामन्ती थिएँ कि भ्रष्टाचारी ? जवाफ चाहियो ।' तर माओवादी जिल्ला नेताहरूले 'जमिन्दार' भएका कारण कब्जा गरेको जवाफ दिएका थिए ।

०५७ देखि ०६३ सम्म एक गेडा धानसमेत नपाएको गुनासो चन्दको थियो । उनले त्यसपछि हालसम्म तिकुर -तीन भागको एक भाग) पाउँदै आएको बताए । माओवादीले मौसमी चन्दा लिन पनि नछाडेको गुनासो उनले गरेका थिए । द्वन्द्वकालमा उनको घरसमेत ध्वस्त पारिएको थियो । फुकुवाले केही हदसम्म खुसी लागेको उनले बताए ।

तर, मानपुर टपरा गाविस भोगपुरका द्वन्द्वपीडित सञ्जीव हमालले मौखिक सहमतिले घरजग्गा फिर्ता कार्यान्वयनमा शंका उब्जेको बताए । उनको एक दशकअघि माओवादीले करिब २५ बिघा जग्गा कब्जा गर्दै आएका छन् । माओवादीले कार्यान्वयनमा विश्वासिलो वातावरण बनाउनुपर्ने उनको माग छ ।

सहजीकरणका संयोजक तिलक शर्मा, एमालेका अध्यक्ष दीपबहादुर राना, कांग्रेसका सभापति सञ्जय गौतम, पूर्वजिल्ला सभापति अरुण सिंह राठौर, प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, सुरक्ष्ााकर्मीको टोली अनुगमनका लागि राजापुर पुगेका थिए ।

माओवादीका जिल्ला इन्चार्ज एवं सहजीकरणका संयोजक शर्माले घरजग्गा फिर्ता गर्ने कार्यलाई तीव्रता दिने बताए । 'यसमा कुनै शंका मान्नु पर्दैन,' उनले भने । माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार कब्जा घरजग्गा फिर्ताको सुरुआत शुक्रबारदेखि बर्दियाबाट थालिने घोषणा गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयमा २ सय ४४ जनाले घरजग्गा कब्जा भएको निवेदन दिएका छन् । जिल्लामा करिब हजार बिघा घरजग्गा कब्जा भएको जिल्ला प्रशासनले जनाएको छ । जोताहा किसान ठाकुरप्रसाद थारूले सहमतिका आधारमा जग्गा फिर्ता गरेकामा खुसी लागेको बताए । तर, वैध पक्षका थारूवान राज्य समिति सदस्य द्रब्य शाह -सुमन) ले संस्थापन पक्षले झुक्याएर फिर्ता घोषणा गरेका बताएका छन् । उनले 'अहिले जग्गा फिर्ताको घोषणा गरिए पनि त्यो फेरि कब्जा गर्ने' बताए ।
                                                                                                                                       स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 7:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीले कब्जा गरेका घरजग्गा फिर्ताको थालनी"

Leave a reply