चितवनका सम्पूर्ण निजी विद्यालय आजदेखि अनिश्चितकालीन बन्द
चितवन (रत्ननगर), कात्तिक १४- तलब वृद्धिको माग गर्दै निजी विद्यालयका शिक्षकले चितवनका सम्पूर्ण निजी विद्यालय आजदेखि अनिश्चितकालीन बन्द गरेका छन्। सरकारी विद्यालयका शिक्षक कर्मचारी सरह तलब सुविधा माग गर्दै आन्दोलनमा रहेका चितवनका निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको सङ्गठन (इस्टु) चितवनले आजदेखि अनिश्चितकालीन चितवनका निजी विद्यालय बन्द गराएको हो।
निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँग १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि माग पूरा नगरेपछि अनिश्चितकालीन विद्यालय बन्द गर्न बाध्य भएको इस्टु चितवनका अध्यक्ष केशवराज पाठकले बताए। बन्दका कारण चितवनका सम्पूर्ण निजी विद्यालयको पठनपाठन बिहानैदेखि ठप्प बनेको छ।विगत समयमा गरेका विभिन्न सहमति कार्यान्वयन नभएको र सरकारले वृद्धि गरेको तलब भत्ताअनुसारको सेवासुविधा उपलब्ध नगराएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन्।
यसअघि कात्तिक ६ गते पनि विरोधस्वरुप चितवनका सबै संस्थागत विद्यालय बन्द भएका थिए। चितवनमा झण्डै चार हजारको हाराहारीमा शिक्षकहरु छन्। रासस
स्रोत :नागरिक न्यूज
