|

इन्जिनियरिङ कलेजहरुको निर्धारित शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउन सहमति

काठमाडौँ, असोज ४- तेह्र विद्यार्थी सङ्गठनको बैठकले त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा बिई (ब्याचलर इन इन्जिनियरिङ) अध्ययन गर्न चार वर्षका लागि हाल कलेजहरुले निर्धारण गरेको शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउने विषयमा सहमति जनाएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय कार्यालयमा आज बसेको १३ विद्यार्थी सङ्गठनको बैठकले इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीलाई ५० हजारदेखि एक लाख रुपियाँसम्म शुल्क वृद्धि गरेकाले सबै विद्यार्थीको पढ्नका लागि पहुँच नपुग्ने भन्दै कलेजले निर्धारण गरेको शुल्कमा सो रकम घटाउन लगाउने विषयमा सहमति भएको हो।

शिक्षा मन्त्रालयको प्रतिवेदनअनुसार कलेजहरुको अनुगमनबाट प्राप्त तथ्यहरुको आधारमा हाल तोकेको विद्यार्थी शुल्कमा समायोजन गर्नुपर्ने परिस्थिति आएमा समायोजन गर्न सम्बन्धित कलेज तयार रहनुपर्ने सहमति गरिएको छ।

बैठकले इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति बढाउने तथा शैक्षिक ऋण उपलब्ध गराउने विषयमा सम्भावित स्रोतहरुको खोजी तथा सदुपयोग गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ।

त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको अनुगमन गर्न हरेक विश्वविद्यालयले विज्ञहरुको एक समिति बनाई आगामी फागुन मसान्तभित्र अनुगमनको प्रतिवेदन तयार गर्ने र अनुगमनबाट प्राप्त सिफारिसलाई लागु गर्ने जिम्मा प्रत्येक विश्वविद्यालयका डिन कार्यालयले लिने विज्ञप्तिमा उल्लेख छ।

अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेलले यी विभिन्न विश्वविद्यालय, शिक्षा मन्त्रालय र १३ विद्यार्थी सङ्गठनबीच भएको सहमति कार्यान्वयन भएमा भर्ना अवरुद्ध भएका विश्वविद्यालयहरुमा भर्ना प्रक्रिया सुचारु गरिने बताए।

Posted by Butwalonline on 8:26 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इन्जिनियरिङ कलेजहरुको निर्धारित शुल्कमा कम्तीमा १५ हजार रुपियाँ घटाउन सहमति"

Leave a reply