ढोका बन्दले डुबान
नेपालगन्ज, अषाढ २५ - पूर्वसहमति विपरीत भारतले सीमा क्षेत्रमा एकतर्फी ढंगले निर्माण गरेको तटबन्धको ढोका बन्द गरेपछि होलिया डुबानमा परेको छ । गन्धौली र सुक्तिया नालाको प्राकृतिक बहाव रोकिएपछि डुबान भएको हो ।
गत वर्ष भारतले एउटा नालाको पानी निकास खोल्न ड्रेनेडआउट डोर (पुल) निर्माण गरेको थियो । जिल्ला प्रशासन कार्यालयले साताअघि पुलको ढोका खोल्न भारतीय अधिकारीहरूलाई आग्रह गरेको थियो । केही दिनका लागि ढोका खोले पनि फेरि बन्द गरेकाले डुबान भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।
पुलको मुखमा माटो थुपारेर ढोका बन्द गरिएपछि नालाको पानी नेपाली गाउँमा पसेको छ । लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका पदाधिकारीहरूले बुधबार प्रजिअ घिमिरेलाई भेटेर समस्या अवगत गराएका थिए । बिहीबार जनताको तटबन्ध कार्यालयको प्राविधिक टोली डुबान क्षेत्रमा पुगेको हो । 'माटोको ढिस्कोले पुलको मुख थुनिएको छ' फर्केपछि जनताको तटबन्ध कार्यालयका इन्जिनियर नारायण सुवेदीले भने ।
केहि दिनअघि नाला खोलिएको जानकारी भारतीय पक्षले प्रजिअ घिमिरेलाई दिएका थिए । 'भारतीय क्षेत्रमा केही निर्माणको काम भइरहेकाले केही दिनका लागि ढोका बन्द गरेको जानकारी आएको छ,' उनले भने । तर स्थानीय बासिन्दाले ढोका खोलेपछि भारतीय गाउँ पनि प्रभावित भएकाले बन्द गरिएको बताए । 'आफ्नो गाउँमा डुबान हुनेबित्तिकै पुलको मुख थुन्यो । अहिले सबै पानी हाम्रा गाउँमा पस्न थालेको छ,' लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका अध्यक्ष जगदीशबहादुर सिंहले भने ।
भारतले दसगजा क्षेत्र नजिक निर्माण गरेको कलकलवा तटबन्धले नाला थुनिएपछि वर्षायाममा डुबान हुँदै आएको छ । पोखरामा सम्पन्न नेपाल-भारत सचिवस्तरीय वार्तामा भारतीय अधिकारीहरूले नेपालबाट बग्ने गन्धौली र सुक्तिया नालाको प्राकृतिक बहाव खोल्न सहमति जनाएका थिए । सहमतिअनुरूप भारतले १८ मिटर लामो पुलको निर्माण गरेको थियो । तर अहिले रोकिँदा समस्या भएको हो । अलि ठूलो पानी पर्नेबित्तिकै सबैको उठिबास हुन्छ ।' अध्यक्ष सिंहले भने ।
भारतले अन्तर्राष्ट्रिय कानुनविपरीत एकतर्फी रूपमा दसगजा क्षेत्रभन्दा ३ सयदेखि ५ सय मिटरको बीचमा १० वर्षअघि कलकलवा तटबन्ध निर्माण गरेको हो । २२ किमि तटबन्धमध्ये १३ किमि निर्माण गरिसकेको छ । तटबन्धको उचाइ र चौडाइ ५/५ मिटर छ । भारतले तटबन्धलाई कालोपत्रे गरेर सडकका रूपमा प्रयोग गर्दै आएको छ । नेपाली पक्षको विरोधपछि बाँकी ९ किमि भने निर्माण भएको छैन । तटबन्ध निर्माणले नेपालबाट बग्ने गन्धैया र सुक्तिया नालाको प्राकृतिक बहाव रोकिएपछि वषर्ायाममा बाँकेका आधा दर्जन गाविसका स्थानीय बासिन्दा डुबानमा पर्दै आएका छन् ।
Source:kantipurnews

