सुन्दरताका साथमा आकर्षण पनि आवश्यक
एक समय त्यस्तो थियो जब प्राकृतिक सुन्दरतालाई नै सुन्दरताको उदाहरण
मानिन्थ्यो तर आज हरेक महिला सुन्दर र आकर्षक देखिन राम्रो पहिरन, मेकअप,
हेयर स्टाइल अपनाएर स्वंयलाई परीभन्दा कम मान्दैनन् । नमानुन पनि कसरी, आज
सुन्दर देखिनुका साथै आकर्षक हुनु पनि आवश्यक भैसकेको छ ।
सुन्दरता र आकर्षण अलगअलग पक्ष
सुन्दरता र आकर्षणलाई एउटै भन्नु ठीक होइन । सुन्दर युवती आकर्षक पनि
हुन्छन् भन्ने छैन । आकर्षण व्यक्तिले आफूलाई कसरी मेन्टेन गरेको छ, त्यो
उसको व्यवहारबाट थाहा हुन्छ । ब्युटी एक्सपर्ट सहनाज हुसेनका अनुसार आज
हरेक उमेरका पुरुष र महिला सुन्दरतालाई धेरै महत्त्व दिन थालेका छन् ।
सुन्दर र आकर्षक देखिनु आफ्नो आत्मविश्वास बढाउन मात्र नभएर आजको यो
प्रतिस्पर्धी युगमा धेरै आवश्यक भैसकेको छ । केही क्षेत्रमा विशेषगरी होटल,
टुरिज्म, मार्केटिङ, पब्लिक रिलेसन, इभेन्ट, म्यानेजमेन्ट, एंकर, न्यूज
रिडर्स, मोडलिङ, अभिनय, फेसनजगत् आदिमा सुन्दर र आकर्षक देखिनुले प्लस
प्वाइन्टको काम गर्छ ।
छालाको चमक
ब्युटि एक्सपर्टहरूका अनुसार आज समयसँगै हरेक उमेरका व्यक्ति ब्युटि
टि्रटमेन्ट गर्न थालेका छन् किनभने उनीहरूका लागि सुन्दरता मात्र नभएर
आकर्षण बढाउनका लागि पनि स्वस्थ, सफा एवं सुकोमल छालाले पनि ठूलो भूमिका
खेल्छ । दाग धब्बारहित छाला आज हरेक
महिलाको चाहना बन्न थालेको छ । त्यसैले मौसमअनुरूप उचित कस्मेटिक्सको प्रयोग गरी छालाको पूरा ख्याल राख्नुपर्छ ।
पहिरनको चयन
सुन्दर एवं आकर्षक देखिनुमा पहिरनको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।
कैयन् महिला स्टाइलिस पहिरन त लगाउँछन् तर उनीहरूको शारीरिक बनावट राम्रो
नभएका कारण ती पहिरन पटक्कै सुहाउँदैन । सुन्दर र आकर्षक कसरी देखिने भन्ने
विषयमा व्यक्तिपिच्छे फरक-फरक धारणा हुन्छ । यदि भित्रैबाट राम्रो महसुस
गर्ने हो भने बढी सुन्दर देखिन सकिन्छ र अरूका लागि आकर्षणको केन्द्र पनि
बनिन्छ । जस्तोसुकै स्टाइल अँगाले पनि आत्मविश्वासी देखिए आकर्षक र सुन्दर
देखिन्छ । मिनी र मेक्सी दुवै लगाउन सकिन्छ तर आफ्नो लम्बाइ र शरीरको
आकारका हिसाबबाट पहिरन छनौट गर्नुपर्छ । साथी जुन पहिरनमा सुन्दर देखिन्छ
आफू पनि त्यही पहिरनमा सुन्दर देखिइन्छ भन्ने छैन । पहिरन व्यक्तित्वको ऐना
हुन्छ । आफ्नो कम्प्लेक्सन र शरीरको आकारअनुरूपको पहिरनले नै सुन्दर र
आकर्षक देखाउँछ । अतः वेस्टर्न वा ट्रेडिसनल जस्तो लगाए पनि आफ्नो
व्यक्तित्व एवं अवसरअनुरूप पहिरन छनोट गर्नुपर्छ ।
ज्वेलरी
सुन्दर ज्वेलरीले पनि सुन्दर र आकर्षक देखाउनमा अहम् भूमिका खेल्छ ।
पहिरनसित म्याच गर्ने ज्वेलरीले व्यक्तिको आकर्षणलाई अझ बढाउँछ । एक जमाना
यस्तो पनि थियो- मानिसहरू सुुनका गरगहना लगाउँथे । बदलिँदो ट्रेन्डले
ज्वेलरीलाई पनि नयाँ दिशा दिइरहेको छ र आज बजारमा कैयन् प्रकारका ज्वेलरी
उपलब्ध छन् । ज्वेलरी डिजाइनहरूका अनुसार अहिलेको ज्वेलरी कलरफुल भएको छ र
त्यसलाई पहिरनसित म्याचिङ गरेर लगाउने चलन छ । अब महिलाहरू गोल्ड, सिल्भर
छोडेर हल्का बिड्स, प्लास्टिक वा लेदरबाट बनेका ज्वेलरी लगाउन रुचाउन
थालेका छन् साथै पहिरनसँगै केही ज्वेलरी क्यारी गर्ने चलन पनि बढ्दो छ ।
मेकअप
मेकअपले व्यक्तिको सुन्दरता बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ । सही
तरिकाबाट गरिएको मेकअपले व्यक्तिलाई सुन्दर रूपमा प्रस्तुत गर्छ । ब्युटि
एक्सपर्ट सहनाज हुसैनका अनुसार हिजोआज नेचुरल हुने ट्रेन्ड बढ्दो छ । हल्का
रंगको फाउन्डेसन एवं मोइस्चराइजरको प्रयोग बढ्दैछ । यस्तो मेकअप दिन र रात
दुवै समयमा प्रयोग गर्न सकिन्छ । ब्लसरको रंड पनि नेचुरल इफेक्ट दिने
खालको हुनुपर्छ । आइ मेकअप गर्दा मस्करा कम लगाउनुपर्छ । लिप लाइनर तथा
लिपिस्टिक म्याचिङ हुनुपर्छ लाइट पिंक, चेरी, रोज जस्ता कलर राती प्रयोग
गर्न सकिन्छ । पर्पल पिंकलाई भने दिउँसो प्रयोग गर्न सकिन्छ । आँखाका लागि
अब आई पेन्सिलको चलन बढ्दो छ र यसमा ब्राउन, बरगन्डी र पर्पल कलरतर्फ
आकर्षण बढी पाइन्छ । ब्युटी एक्सपर्टहरूका अनुसार आकर्षक र सुन्दर देखिन
स्वयंको पर्सनालिटी ग्रुमिङ आवश्यक छ । मौसम र कार्यस्थलअनुरूप पहिरन र
मेकअप छनोट गर्दा पनि व्यक्ति आकर्षक देखिन सक्छ । बदलिँदो समयसँगै हेयर
स्टाइलिङमा परिवर्तन आएको छ । अब युवतीहरू छोटो हेयर कट र बाक्लो केश
रुचाउँछन् । हेयर कलरिङमा ग्लोबल कलरको टे्रेन्ड छ । गोरा व्यक्तिका लागि
गोल्डेन र ब्राउन कलर राम्रो हुन्छ । गहुँगोरो रंगमा भने मेटल, रेड, म्लम्स
तथा मोहगनी कलरको केश सुहाउँदो हुन्छ ।
सेन्स अफ स्टाइल
व्यक्तिमा सेन्स अफ स्टाइल हुनुपर्छ, किनभने अरूको भन्दा अलग स्टाइल भए
नै अलग पहिचान बन्छ । कैयन् अवस्थामा व्यक्तिले एकै प्रकारको पहिरन, मेकअप
वा हेयर स्टाइल अँगालेकोे पाइन्छ, किनभने त्यो उसको स्टाइल हुन्छ, जसबाट
उसको पहिचान बन्छ । सेन्स अफ स्टाइल आफ्नो उमेर, प्रोफेसन, सोसल सर्कल,
फेसन ट्रेन्ड तथा आफ्नो व्यक्तित्वलाई ध्यानमा राखेर बनाउनुपर्छ । जस्तो
स्टाइल अपनाइन्छ त्यसमा भद्दापन झल्कनु हुँदैन । शालिनताका साथ ट्रेन्डी
लुक पनि आवश्यक छ ।
ब्रान्डको भूमिका
हाम्रो जीवनशैली धेरै हदसम्म आधुनिक हँुदै गएको छ । चाहे कुरा खाने
वस्तुको होस् वा पहिरनको, हामी त्यसलाई ब्रान्डसित जोडेर हेर्न थालेका
छौँ । मनोचिकित्सकहरूका अनुसार जो भित्रबाट आफूलाई आकर्षक भएको महसुस
गर्छन्, उनीहरू वास्तवमै आकर्षक देखिन्छन् । आशावादी विचारले अरूलाई
आकषिर्त गर्छ । यसबाहेक व्यक्ति जहिल्यै राम्रो ब्रान्डसित जोडिदा गर्व
गर्छ, किनभने उसलाई त्यो ब्रान्डको गुणस्तरमाथि भरोसा हुन्छ र यो विश्वास
पनि हुन्छ कि उनीहरूको पैसा बेकार गएको छैन । यदि राम्रो ब्रान्डको पहिरन,
एक्सेसरिज, जुत्ता आदि लगाएको छ भने अरूका नजरमा व्यक्तिको स्टेटस सिम्बल,
सामाजिक प्रतिष्ठा मात्र होइन र ऊ स्वयंको आत्मविश्वास पनि बढ्छ ।
Source:Saptahik kantipur