बजेट 'लिक' को विषयमा संसदीय छानबिन विशेष समिति गठन
काठमाडौँ, असार ३२- व्यवस्थापिका-संसद्मा आर्थिक वर्ष २०६८/६९ को राजस्व
र व्ययको वार्षिक अनुमान पेस गर्नुअगावै सञ्चारमाध्यममा प्रचारप्रसार भएको
तथा अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न
सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरिएको छ।
व्यवस्थापिका-संसदको दोस्रो बैठकमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक
लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा सो समिति गठन गरिएको हो। समितिका अन्य
सदस्यमा नेकपा(संयुक्त)का कल्पना राणा, एमाओवादीका जयपुरी घर्तीमगर र
पोष्टबहादुर बोगटी, एमालेका भीमप्रसाद आचार्य,नेपाली काँग्रेसका रमेश लेखक र
तराई-मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी छन्।
सो समितिलाई प्रतिवेदन पेस गर्न साउन ६ गतेसम्मको समयावधि प्रदान
गरिएको छ। समितिलाई आर्थिक वर्ष २०६८/६९ को राजस्व र व्ययको अनुमानमा
अन्तरनिहित तथ्य उपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीले संसदमा
प्रस्तुत गर्नुअघि सञ्चारमाध्यम र नेपाल सरकारको आधिकारिक वेबसाइटमा
सार्वजनिक भएको सम्बन्धमा छानबिन गर्न कार्यादेश दिइएको छ।
यसअघि सो समिति गठन सम्बन्धमा थममाया थापामगरले राख्नुभएको प्रस्तावलाई
नेपाली काङ्ग्रेसका कमला पन्त र एनेकपा (माओवादी)का एकराज भण्डारीले समर्थन
जनाएका थिए।
बैठकमा अर्थमन्त्री अधिकारीले आर्थिक वर्ष २०६८/६९ को राजस्व र व्ययको अनुमानलाई संसदमा टेबुल गरेका थिए।
त्यसैगरी उनले संसदमा आर्थिक विधेयक२०६८ पनि प्रस्तुत गरे।
आज प्रस्तुत बजेटमाथिको सामान्य छलफल गर्न शनिबार असार ३२ गते बिहान ८
बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरिएको सभामुख सुवास नेम्बाङले
जानकारी दिए।
सो छलफल सकिएपछि अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्री अधिकारीले जवाफ दिने कार्यक्रम छ। रासस