एक्लैले २७ लाख खर्चेर खानेपानी
कतिपय समाजमा छुवाछूत प्रथा अझै हटिसकेको छैन । तर श्रीकृष्णगण्डकीको
गुरुङदीका एक दलितलाई स्थानीय बासिन्दाले 'भगवानै' मान्छन् । २७ लाख
रुपैयाँ निजी लगानीले गाउँमा खानेपानी योजना बनाइदिएपछि तेजप्रसाद
विश्वकर्मा सबैका प्रिय बनेका हुन् । गाउँमा पानीको कुनै स्रोत थिएन ।
गाउँलेहरू दुई-तीन घन्टा हिँडेर छिमेकी गाउँहरू श्याम्दी, घोरपान्दी, पहिरो
खोलाबाट ल्याउँथे । विश्वकर्माले गाउँभन्दा तलको माझखोलाबाट ५ सय मिटरमाथि
पानी तानेर ट्यांकीमा जम्मा गरी वितरण गर्ने व्यवस्था मिलाएका हुन् ।
'गाउँमा पानीको निकै समस्या थियो,' स्थानीय भुवानन्द न्यौपानेले भने,
'उनले पुस्तौंदेखिको दुःख बिर्साइदिए ।' अहिले गाउँमा १२ वटा धारा बनाइएको छ
। ७५ घरधुरीले खानेपानी उपयोग गर्छन् । 'सबैलाई पायक पर्ने ठाउँ मिलाएर
टोल-टोलमा धारा राखिएको छ,' सन्तलाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष
दिलबहादुर सुनारले भने, 'सामूहिक धाराबाट छुट्टाछुट्टै पाइप जडान गरी
घर-घरमा पनि पानी पुगेको छ ।' करिब १५ हजार लिटर क्षमताको पानी ट्यांकी छ ।
हरेक दिन १२ हजार लिटर पानी वितरण हुने समितिले जनाएको छ । पानी भएपछि
गाउँमा सरसफाइ बढेको न्यौपानेले बताए । 'हरेक वषर्ामा झाडापखाला हुन्थ्यो
तर धाराको पानी पिउन र अन्य सफाइ गर्न पाएपछि कसैलाई झाडापखाला लागेको
छैन,' उनले भने । स्थानीय कविता थापाले समय बचेको बताइन् । 'कहिलेकाहीं त
छोराछोरीले समेत पानी बोक्नुपर्ने हुँदा स्कुल जान पाउँदैनथे,' उनले भनिन् ।
विश्वकर्माले हजुरबुबा सन्तलाल स्मृतिमा आयोजना निर्माण गरेका हुन् । उनले
निर्माण सामग्री र ढुवानी खर्च तथा नगद सहयोग गरेका थिए भने गाउँलेले
श्रमदान । आयोजना २०६७ असारमा सुरु भएको थियो । 'सानो छँदा स्कुल नगई पानी
बोक्नुपथ्र्याे,' हाल बुटवलमा बस्दै गर्दै आएका उनले सम्भिmए, 'त्यति
बेलाको दुःख सम्झेर अहिले खानेपानीमा सहयोग गरेको हुँ ।' आयोजना सञ्चालन
गर्न प्रत्येक घरबाट मासिक २ सय रुपैयाँ संकलन गरिएको छ । उक्त रकमले लिफ्ट
गर्दाको विद्युत् खर्चदेखि भविष्यमा अन्य मर्मतका काम गर्ने योजना समितिको
छ ।
Source:kantipurnews